खबर पूर्वाञ्चल
आज पत्रकार सम्मेलन मार्फत फाउण्डेशनले यस प्रतियोगिता सोमबारदेखि विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा उक्त प्रतियोगिता हुने जानकारी गराएको हो ।
फाउण्डेशनका संयोजक मन्दिप साहका अनुसार प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सिरहा र सप्तरीका महिला टिमहरू सहभागी हुनेछन् । चारै जिल्ला क्रिकेट संघले पठाएका टिमहरूबीच लिगको आधारमा प्रतिस्पर्धा हुनेछ । सोमबार दुई खेल हुनेछ । पहिलो खेल इलाम र सप्तरी बिच हुनेछ भने सोही दिन हुने दोस्रो खेल मोरङ र सिरहाबीच हुनेछ ।
फाउण्डेशनले म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना गर्दै आएको साहले बताए ।
साहले जानकारी दिएअनुसार यस आयोजनाले घरबाट बाहिर निस्किन नसकेका युवतीहरू अहिले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल्न सफल भएका छन् ।
फाउण्डेसनकी बोर्ड सदस्य स्नेहा गुवाजुका अनुसार नव प्रतिभा पहिचानलाई मद्दत गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको प्रतियोगिताले यसअघि नै केही खेलाडी उत्पादनमा टेवा र्पुयाएको छ । मोरङमा सानु राजवंशी, निरु राजवंशी (काजल) र पूर्णिमा राजवंशीले ठुला प्रतियोगिता खेल्न पाएको उनले सुनाइन् ।
फाउण्डेशनले सानै उमेरका बालिका तथा युवतीहरूलाई क्रिकेट प्रशिक्षणदेखि लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला पनि सञ्चालन गर्दै आएको छ ।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाले उद्घाटन गर्ने यस प्रतियोगितामा लिग चरणमा ६ र फाइनल सहित जम्मा ७ वटा खेल हुनेछन् ।
इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता महिला सशक्तिकरण र समानताको संदेश दिने महत्वपूर्ण प्लेटफर्म बन्दै गएको छ, जसले ग्रामीण क्षेत्रका युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको छ ।
आयोजक फाउण्डेसनले प्रतियोगिताका लागि साढे ६ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । गत संस्करणमा भने मोरङ महिला टोलीले उपाधि हात पारेको थियो ।