पूर्वाञ्चल खबर
कपिलवस्तु / कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।
कृष्णनगर बजार क्षेत्रमा लक्ष्मी पूजाको मूर्ति बिर्सजन गर्न जाने बाटोका विषयमा स्थानीयबीच विवाद भएपपछि झडप भएको थियो ।
विवादपछि गोली चल्दा एकजना भारतीय नागरिकको मृत्यु भएको हो । प्रहरीले चलाएको गोली लागेर मृत्यु हुने भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीसँग जोडिएको भारतीय भूभागमा स्थायी घर भई विगत १० वर्षदेखि कृष्णनगरमा चिया पसल सञ्चालन गर्ने सुरज पाण्डे रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा विहान ११ बजेदेखि कर्फ्यु लगाएको छ । लक्ष्मी पूजाको मूर्ति बिर्सजन गर्ने विषयमा दुई समुदायबीच हिजोबाट सुरु भएको विवादले उग्र रुप लिएपछि झडप भएको थियो । थप घटना नहोस् भन्नका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । झडपमा परी केहि स्थानीय र प्रहरी घाइते भएका छन् । विषय सामान्य भए पनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको भनाइ छ । प्रहरीले झडपलाई नियन्त्रण लिन बुधबार ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।