खबर पूर्वाञ्चल
वातावरणमा प्रतिकुल प्रभाव पार्ने वस्तुको प्रयोगमा कमी ल्याउँदै फोहोरको उचित व्यवस्थापन गर्ने, पुनप्र्रयोग गर्ने जस्ता काम अब महानगरको पहलमा अघि बढ्नेछ ।
प्रत्येक घर वातावरणमैत्री भए टोल र सहर स्वतः स्वच्छ, सफा र हराभरा हुने महानगरको विश्वास छ । महानगरपालिकाले जनसहभागितामा आधारित रहेर वातावरण सुधारको काम गर्न कार्यविधि निर्माण गरिरहेको जनाएको छ । कार्यविधि निर्माणकै क्रममा उसले केही सूचकहरुको बारेमा परामर्श गरिरहेको छ ।
पहिलो चरणमा केही टोल संगठन अन्तरगतका घरहरुबाट पाइलट प्रोजेक्टको रुपमा वातावरण सुधारको काम गर्ने वातावरण महाशाखाकी प्रमुख अनिता न्यौपानेले बताए । घरमा प्रयोग गर्ने उर्जाको स्रोत, कुहिने र नकुहिने फोहोरको व्यवस्थापन गर्ने तरिका, ढल व्यवस्थापन, नविकरणीय उर्जाको प्रयोग जस्ता कुरा वातावरण सुधारका प्राथमिकताका विषय हुन् ।
घर, टोल, सार्वजनिक क्षेत्रको सरसफाईसँगै टोलमा हरियाली प्रवद्र्धन गर्ने काम नमुना परियोजना अन्तरगत सञ्चालन गरिने छन् । त्यसकालागि वातावरण मन्त्रालयले नै निश्चित सूचक र निर्देशिका जारी गरिसकेको न्यौपानेले जानकारी दिए । टोलमा हरियाली प्रवद्र्धन गर्दा बाटो तथा सार्वजनिक खुला चौरमा विभिन्न प्रजातिका विरुवा लगाउनु पर्ने, प्रत्येक घरमा सकेसम्म मौसम अनुसार एउटै प्रजातिका फूल लगाउन प्रेरित गर्ने र सौन्दर्यता प्रवद्र्धन गर्ने जस्ता कार्यक्रम तय गरिने न्यौपानेले जानकारी दिए ।
प्रत्येक घरमा न्यूनतम तीन वटा रुख हुर्काउनु पर्ने र ठाउँ नभए कौसीमासमेत रुख रोप्नै पर्नेगरी निर्देशिका बनाइने न्यौपानेले बताए । उनले वर्षमा २ पटक सबैको सहभागितामा टोल सफाई अभियान चलाउने, सार्वजनिक स्थल प्लाष्टिकरहित बनाउने, बाटोमा फोहोर जम्मा नगरी सिधै संकलनकालागि आउने सबारी साधनमा पुग्ने व्यवस्था मिलाउने दिशामा महानगरले आफ्नो काम अघि बढाउने पनि जानकारी दिए ।
न्यूनतम आधार पुरा भएपछि वातावरणमैत्री घर र टोल घोषणा गर्दै वातावरणमैत्री महानगर घोषणा गर्ने दिशामा अघि बढ्ने बताइएको छ । वातावरणमैत्री महानगर घोषणा गर्ने बेलासम्म सार्वजनिक स्थल र बाटोमा कुकुरको दिशासमेत नरहेको अवस्था हुनुपर्ने वातावरण मन्त्रालयको सूचकमा उल्लेख छ ।
महानगरपालिकाले सहरको सौन्दर्य बढाउन विभिन्न पार्कहरू निर्माण गर्ने योजना पनि बनाएको छ । हाटखोलमा पाँच जना पूर्वप्रधानमन्त्रीहरूको सालिक राखेर पार्क बनाउने तयार छ भने केही स्थानमा आइल्याण्ड र स्ट्रिट पार्कहरू निर्माण गर्दैछ ।
महानगरपालिका सामुदायिक विकास महाशाखा प्रमुख पुनम दाहालका अनुसार महानगरमा पार्कहरू निर्माण गर्न चालु वर्षमा ५ करोड रुपैयाँ विनियोजन भएको छ । महानगरपालिकाले ड्रिम प्रोजेक्टको रूपमा गुरुकुल नाटक घरदेखि पश्चिमरहेको जमीनमा पूर्वप्रधानमन्त्रीहरू विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, नागेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारीको शालिक राखेर आर्कषक पार्क निर्माण गर्दैछ । त्यसका लागि चालु बर्षमा ५० लाख रुपैयाँ विनियोजन भइसकेको छ ।
यसबाहेक विराटनगर महानगरमा रहेका चौकहरूलाई सौन्दर्यकरण गर्ने योजना पनि महानगरको छ । सहरका चौकहरूलाई सफा–सुग्गर राखेर साँझ–बिहान रमाउने ठाउँका रूपमा चौकहरूलाई स्थानीयकै सहयोगमा विकास गरिनेछ ।