पूर्वाञ्चल खबर
विराटनगरमा असोज १० गतेदेखि आयोजना भएको कोसेली महोत्सव आज समापन गर्दै मन्त्री कुशियतले युवाहरुलाई उद्यमशिता तर्फ आकर्षित गरेर रोजगारी अभिवृद्धि गर्ने बताएका हुन् ।
युवाहरुलाई नयाँ सोचसहित नयाँ नयाँ उद्यममा लाग्न प्रोत्साहित गर्दै नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरु स्थापना गर्न उनले आग्रह गरे । मन्त्री कुशियतले युवा उद्यमी तथा महिला उद्यमीको प्रयासमा मन्त्रालयले सदैव सहयोग गर्ने पनि बताए । मन्त्री कुशियतले कोसेली महोत्सव आयोजना गर्दा वर्षाका कारण केही नोक्सानी भएको सुनेको भन्दै मन्त्रालयबाट थप साझेदारी गर्ने आश्वासन दिए ।
उद्योग संगठन मोरङको युवा उद्यमी मञ्च र महिला उद्यम समितिले संयुक्तरुपमा आयोजना गरेको कोसेली महोत्सव झण्डै एकसातासम्म परेको अविरल वर्षाका कारण प्रभावित बनेको थियो । भारी वर्षाका कारण निर्धारितसमय भन्दा एक दिन ढिलो आरम्भ भएपनि सबैको सहयोगबाट महोत्सव सफल भएको युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष मनोजबिक्रम शाहले बताए । उनले आगामी दिनमा पनि युवा उद्यमीहरुलाई प्रोत्साह हुने विश्वास व्यक्त गरे ।
महोत्सवमा विभिन्न हस्तकलाका उत्पादनहरु, युवा उद्यमीहरु सहभागी उद्योगको उत्पादन, घरेलु उत्पादन र खाद्यान्नका परिकार आदिका ८० बढी स्टलहरु राखिएका थिए । महोत्सवलाई सफल बनाउन युवा उद्यमी र महिला उद्यमीहरुको सक्रियता उदाहरणीय रहेको भन्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले प्रशंसा गरे । महोत्सवमा करिव १६ लाख रुपियाँ बराबरको कारोवार भएको थियो ।
उद्योग संगठन मोरङका अध्यक्ष घिमिरेले कोसेली महोत्सवलाई सफल बनाउने स्टल लिएका उद्यमीहरुकालागि आगामी माघ महिनामा आयोजना हुने विराट एक्स्पोमा स्टल लिँदा यहाँ बुझाएको स्टल शूल्कबराबरको रकम छुट दिने घोषणा पनि गरे । अपेक्षित कारोवार नभएपनि उद्योग संगठनले यस्तो सुविधा दिने निर्णय गरेको हो ।