खबर पूर्वाञ्चल
मोरङ बूढीगंगा गाउँपालिका वडा नम्बर १ टंकीसिनवारीस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीको नवनिर्मित बैठक कक्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम रहेको बताए । उनले सशस्त्र प्रहरीले सीमा सुरक्षा, लागूऔषध ओसारपसारमा नियन्त्रण, दैवी तथा प्राकृतिक प्रकोपका समयमा उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताए । “राजस्व चुहावट, लागूऔषधको ओसारपसार नियन्त्रण, प्राकृतिक प्रकोपका समयमा उद्धारलगायतमा सशस्त्र प्रहरीको अग्रणी भूमिका रहेको छ,” मेयर कोइरालाले भने, “आगामी दिनमा स्थानीय तहसित सशस्त्र प्रहरीको समन्वय र सहकार्य अझै प्रभावकारी हुने विश्वास लिएको छु ।”
कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले सशस्त्र प्रहरीले जनतासित नजिक भएर काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले प्राकृतिक प्रकोपका समयमा सशस्त्र प्रहरीले उद्धार र राहत वितरणमा अग्रणी भूमिका निर्वाह गर्ने गरेको चर्चा गरे ।
कार्यक्रममा गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी तीर्थराज थापाले स्थानीय पालिकाहरुको सहयोगमा छोटो समयमै बैठक कक्षको निर्माण सम्पन्न गर्न सफल भएको बताए । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविन राजकर्णजितले बैठक कक्षको निर्माणले भारतीय सुरक्षा निकायका समकक्षीसित बैठक गर्न सहज भएको बताए ।
गत मंसिर २९ गते शिलान्यास भएको बैठक कक्ष ३५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी हेमकुमार पौडेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया