पूर्वाञ्चल खबर
लेनदेनको विषयमा विवाद भएपछि जितेन्द्र रायलाई भारतीय सुटर प्रयोग गरी हत्या गराउन विराटनगरका मन्नुकुमार गुप्ताले योजना बनाएका थिए । सुपाडी लिने र योजना बनाउनेसहित घटनामा संलग्नलाई मोरङ प्रहरीले आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार विराटनगरका मन्नु गुप्ता, हरिनारायण झा र साफसुटर कुलानकुमार सिंह छन् । पक्राउ परेका झा हत्या अभियोगमा क्षेत्रिय कारागार झुम्का बसिसकेका व्यक्ति हुन् । मन्नु पनि बलात्कार मुद्दामा झुम्का कारागार बसेका थिए ।
उनीहरुबीच कारागारमै चिनजान भएपछि मित्रता सुरु भएको थियो । प्रहरीका अनुसार मन्नुले हरिनारायणमार्फत हत्याको सुपारी दिएका थिए । अभियुक्त मन्नु गुप्ताले रायको हत्या गराउन भन्दै सर्लाहीका हरिनारायण झालाई सो रकम दिएका थिए । झाले भारत सितामढी घर भएका राकेश झासँग साँठगाँठ गरेर भारत सितामढीकै सुटर कुनालकुमार गुप्ता र सोही ठाउँका राजुकुमार रौनियारलाई रायको हत्या गर्न पेस्तोलसहित विराटनगर पठाएको प्रहरीको दाबी छ । रौतहतको गौर हुँदै विराटनगर आएका सुटरहरूमध्ये कुनालकुमार सिंहलाई गएको जेठ २७ गते प्रहरीले विराटनगर बसपार्क छेउमा रहेको होटल मेट्रो सिटिबाट पक्राउ गरेको थियो । सो होटलमा बियर खाएर नाच्ने क्रममा सिंहले कम्मरमा भिरेको पेस्तोल होटलका अन्य ग्राहक र होटल सञ्चालकले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी आइपुग्नु अघि नै सिंहसँगै रहेका राजुकुमार रौनियार फरार भएको मोरङ प्रहरीले जनाएको छ ।
पेस्तोलसहित पक्राउ गरिएका सिंहको बयानपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा सुपाडी दिएर हत्या प्रयास घटनाको रहस्योद्घाटन भएको हो । सो घटनामा संलग्न भनिएका राकेशकुमार झा र राजुकुमार रौनियार फरार रहेका छन् । अभियुक्त सिंह र रौनियार जेठ २७ गते नै रायको हत्या गर्ने उद्देश्यसहित उनको विराटनगर हाटखोलास्थित घरसमेत पुगेका थिए । तर राय घरमा नभेटिएपछि उनीहरू सोधीखोजी गरी फर्किएर होटल तर्फ गएको बेला सोही राति साढे ८ बजेपछि पेस्तोलसहित कुनाल पक्राउ परेका थिए । कुनाल पक्राउ परेपछि सर्लाहीबाट हरिनारायण र विराटनगरबाट मन्नुकुमार गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।