CLASSICTECH NET

भारतसँग श्रीलंका ५–० ले पराजित ,सेमिफाइनलमा नेपाल र श्रीलंका तथा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने

खबर पूर्वाञ्चल, ३ चैत्र २०७५, आईतवार १८:१४

पुष्पराज थपलिया
विराटनगर /साविक विजेता भारतले श्रीलंकामाथी सहज जित निकाल्दै विराटनगरमा जारी पाँचौं महिला साफ च्याम्पीयनसीप फुटबलमा समूह बि को विजेता बनेको छ ।

विराटनगरमो शहिद मैदानमा समूह विको अन्तिम खेलमा आज भारत ले श्रीलंकालाई ५–० फराकिलो गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको हो । भारत समूह विजेता बनेसँगै आयोजक नेपालले सेमिफाइनल श्रीलंकालाई प्रतिद्धन्दीका रुपमा पाएको छ भने जितपछि समूह विजेता बनेको भारतले अब सेमिफाइनलमा समूह ए को उपविजेता बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलका दुबै खेल आगामी बुधबार हुनेछन् । पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकासँग विहान ११ बजे प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशसँग ३ बजे प्रतिस्पर्धा गर्दैछ ।

भारत जितमा ग्रेस दाङमेइ, सन्धिया रंगनाथन, इन्दुमती खातिरीसान, संगीता वासफोरे र रत्नाबाला देवीले गोल गरिन् ।
भारतले खेलको चौथो मिनेटमा नै ग्रेस दङमीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । सन्जुले प्रहार गरेको बल बारमा लागेर रिवाण्ड भएको बललाई गे्रसले गोलमा परिणत गरेकी हुन् । पहिलो गोल भएको तीन मिनेटपछी भारतले अर्को गोल गर्दै भारतले अग्रता दोब्बर बनायो । सन्जुले दिएको क्रस पासलाई सदुपयोग गर्दै सन्धिया रंगनाथनले गोल गरिन् ।

खेलको ३६औं मिनेटमा भारतकी इन्दुमथी कठिरेसनले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् इन्दुमथीले सन्जुले दिएको पासमा गोल गर्दै भारतलाई ४–० को अवस्थामा पुर्याइन् ।
पहिलो हाफ सकिन केही सेकेण्ड बाँकी रहँदा संगिता बस्फोरेले पेनाल्टीबाट गोल गरिन् । भारतकी सन्जुले पोस्टतर्फ प्रहार गरेको बलमा डिबक्स भित्र श्रीलंकाकी रुसानी गुनावर्दनाको हातमा लागेपछि भारतकी संगीता वास्फोरेले पेनाल्टीमार्फत चौथो गोल गरेकी हुन् ।
पहिलो हाफमा ४–० को अग्रता बनाएको भारतले दोस्रो हाफमा १ गोल थप्यो । दोस्रो हाफको सुरुवातमै भारतले श्रीलंकामाथि ५–० अन्तरको जित निकाल्यो । ४६ औं मिनेटमा रतनवालादेवी नङ्माइथेनले प्रहारले जाली चुम्दा श्रीलंकामाथि फराकिलो गोल अन्तरको जित निकाल्दै भारत समूह ‘बी’ को विजेता बनेको हो । उनले सन्धियाको पासमा गोल गरेकी थिइन् । खेलको अन्तिम सयमसम्म एउटै लयमा देखिएको भारतका खेलाडीमाथि मार्क गर्न नसक्नु श्रीलंकाको ठूलो कमजोरी रहयो । भारतले गोल गर्नका लागि पाएका अन्य आधा दर्जन बढी अवसरलाई सदुपयोग गर्न सकेन । आइतबार भएको खेलबाट समूह विजेताको अन्तिम टुँगो लगाएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।

खेलपछि श्रीलंकाका प्रशिक्षक रोहन थिलाक अल्पोन्सुले भारत शक्तिशाली टिम भएकाले धेरै गोल अन्तरको पराजय भोग्नु परेको बताए । ‘यस अघि मेहनत गरेकै कारण हामी सेमिफाइलनसम्म पुग्न सकेका थियौं,’ उनले भने, ‘भारत विरुद्धको खेलमा सुरुदेखिनै रक्षात्मक रुपमा उत्रने हाम्रो रणनीति सफल हुन सकेन ।’ प्रशिक्षक अल्पोन्सुले सन् २०१६ पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका कारण पनि श्रीलंकाको टोलीसँग अनुभवको कमी रहेको स्वीकार गरे । ‘आजको नतिजा हामीसँग अनुभव कम हुनुको कारक हो,’ उनले भने, ‘अब सेमिफाइनलमा भने नेपाल विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने छौं ।’

जितपछि खुशी हुँदै भारतकी प्रशिक्षक मेमोल रोकीले ५ मिनेट भित्रमा गोल गरेर श्रीलंकालाई डोमिनेट गर्ने रणनीति सफल हुँदा फराकिलो अन्तरको जित निकाल्न सकिएको बताइन । ‘रणनीति सफल हुँदा प्राप्त भएको नतिजाबाट म धेरै खुशी छु,’ उनले भनिन्, ‘अब बंगलादेशसँग सेमिफाइनलमा प्रतिस्पर्धाको लागि तयारीमा लाग्छौं ।’ बंगलादेश बलियो टोली भएकाले पनि त्यो विरुद्धको योजना र तयारीमा लागेर सुखद् नतिजा निकाल्ने दावी उनले गरिन् ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५