पूर्वाञ्चल खबर
विराटनगर . प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरको १३६ औं समुहको प्रहरी जवान आधारभूत तालीमवाट १३५ जना प्रहरी आज दिक्षीत भएका छन् ।
२०७५ जेष्ठ २६ गते देखि फाल्गुन १६ गते सम्म सञ्चालन भएको प्रहरी जवान आधारभूत तालिममा १३५ जना प्रशिक्षार्थी प्रहरी जवान दिक्षित भएका हुन् ।
कार्यक्रममा तालिम अवधि भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा विभिन्न १० विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत प्रशिक्षणमा संलग्न उत्कृष्ठ ३ जना प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख केदार रिजालले प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रहरी प्रमुख रिजालले करिव १० महिना अवधिमा तालिम केन्द्रमा सिकेका ज्ञान सिपहरु प्रहरी जीवनको आधारभूत र अमुल्य नीधि भएकाले सिकेका व्यवसायिक ज्ञानहरुलाई जिवनको हरेक मोडमा मार्ग दर्शनको रुपमा स्मरण गर्न अनुरोध गरे । निर्देशनकै क्रममा प्रहरी प्रमुख रिजालले आ आफ्नो कार्य क्षेत्रमा राम्रा–नराम्रा, तिता मिठा, शुभ–अशुभ धेरै कुराहरु र परिस्थितीको सामना गर्नु पर्ने भएकोले आफ्नो ब्यबसायिक जिम्मेवारी , उत्तरदायित्व र जवाफदेहिता बहन गर्दे असल प्रहरी बनेर जनताको मन जित्ने कार्यहरु गर्न समेत निर्देशन दिए ।
दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले शव्द बाचनद्वारा शब्दमा सपथ ग्रहण गराएका थिए ।