पूर्वाञ्चल खबर
धरान / बुढासुब्बा गोल्डकपको २१ औं सँस्करणको आजदेखि सुनसरीको धरानमा शुरु भएको छ ।
समय अभावका कारण आज भएको उद्धघाटन खेल सोमबार बिहान पुन खेलाइने भएको छ । आजको खेल संकटा क्लब काठमाण्डौ र मेची नेत्रालय काकडभिट्टा फूटबल ट्रेनिङ सेन्टर बिचको खेल बराबरीमा टुंगिएपछी सोमबार बिहान पुन खेलाइने भएको हो । निर्धारित समय दुबै टिमले दुई दुई गोलको बराबरी खेलेपछी खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा पनि दुबै टिमले बराबरी खेलेपछी खेल सडेन डेथमा गयो । सडेन डेथबाट पनि कुनै नतिजा ननिस्केपछी अन्ध्यारो भएकाले आयोजकले खेल सोमबार बिहान ८ बजे पुन टाइब्रेकरबाट टुंग्याउने भएको हो ।
निर्धारित समयमा मेची नेत्रालयका कर्ण लिम्बुले खेलको १० औ मिनेट गोल गरी अग्रता कायम गराएका थिए । पहिलो हाफमा १ गोलको अग्रता कायम गरेको मेची नेत्रालय बिरुद्ध खेलको ६० औ मिनेटमा संकटाका जया गुरुङले गोल गरेर बराबरीमा पुर्याएका थिए । त्यसको ८ मिनेटपछी मेची नेत्रालयका पुजन उपरकोटीले गोल गरी खेललाइ २–१ को अग्रतामा पुर्याएका थिए । खेलको अन्तिम समयमा सम्हालिन नसक्दा मेची नेत्रालय बिरुद्ध अन्तिम मिनेटमा दिपेश थापामगरले गोल गर्दा खेल बराबरीमा पुगेको थियो । आयोजकको चरम लापर्वाहीले समयमै खेल सुरु नगर्दा नजिता निस्कन नसकेको हो । खेल ढिला गरी दिउँसो चार बजेमात्र खेल सुरु भएको थियो ।