animated ellipse animated ellipse

शिक्षाले व्यक्तिलाई व्यवहारिक जिवनतर्फ उन्मुख बनाउनुपर्छ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ माघ २०७५, बुधबार १६:०५
3
Shares
विराटनगर स्थितआईडियल सेकेन्डरी बोडिङ स्कूलका प्रिन्सिपल ईश्वरीप्रसाद मिश्र शिक्षासँग सम्बन्धित समसायिक विषयसँग केन्द्रीत रहेर गरिएको संक्षिप्त कुराकानी

अहिले के मा व्यस्त हुनु हुन्छ ?
विद्यालयमा खेलकुद सप्ताह सकिएको छ । कक्षा १० को माध्यमिक शिक्षा अभ्यास परीक्षा चलिरहेको छ । साथै अन्य कक्षाहरुको चौथो मासिक परीक्षाको तयारीमा छौँ । हाम्रो शिक्षा क्षेत्रको महान् पर्व श्रीपञ्चमी ( सरस्वती पुजा) सँगै नयाँ शैक्षिक सत्रको तयारीमा जुटेका छौँ ।

तपाई प्याब्सनमा कहिले आवद्ध हुनु भयो ?

म व्यक्तिगत रुपमा विरगंजमा सम्पन्न आठौँ महाधिवेशनमा जिल्ला प्रतिनिधीको रुपमा आवद्ध भएँ । हाम्रो विद्यालय २०६५ सालदेखि प्याब्सनमा आवद्ध रहि यस संस्थाका नीति तथा कार्यक्रमहरुमो ऐक्यवद्धता जनाउँदै आएको छ ।

तपाई शिक्षा क्षेत्रमा कहिलेदेखि आवद्ध हुनुहुन्छ ? शिक्षा क्षेत्रमा लाग्न कोबाट कसरी प्रेरित हुनु भयो ? यस क्षेत्रमा नलागेको भए कुन क्षेत्र तपाईको रोजाइमा हुन्थ्यो ?

म शिक्षा संकायकै बिद्यार्थी हुँ । विगत १६ बर्षदेखि शिक्षण पेशामा संलग्न छु । विगत चार बर्षदेखि यस क्षेत्रलाई पेशा र सेवाको रुपमा सँगसँगै अगाडि बढाइरहेको छु । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हरेक व्यक्तिका प्रेरणाका स्रोत हुन्छन् । म मेरा प्राथमिक तहका शिक्षकहरुलाई यसको श्रेय दिन चाहन्छु । जसलाई क्रमशः मा.वि., कलेज र विश्वविद्यालय तहका शिक्षकहरुले मल–जल गर्दै जानुभयो । बैकल्पिक पेशाको रुपमा आजसम्म सोचिएन । मेरो जिवनको एउटै मात्र पेशा वा व्यवसाय जे भनौ शिक्षण या शिक्षा नै हो र रहिरहनेछ ।

यस क्षेत्रमा लागेर कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

म यस पेशामा शत प्रतिशत सन्तुष्ट छु । यस क्षेत्रलाई सम्मानित बनाउन समाजका सबै पक्ष जिम्मेबार बन्न भने पक्कै आवश्यक छ । यसका लागि हामीले प्रथमत यो पेशालाई सेवाका रुपमा अँगाल्नै पर्छ । बालबालिकाहरुका हँसिला अनुहार हेर्दै उनीहरुका निष्कपट विचार र व्यवहारसँग भलाकुसारी गर्दै जिवनका क्षणहरु विताउन पाउने म शिक्षक कसरी असन्तुष्ट हुन सक्छु र ?

तपाईको विचारमा प्याब्सन के हो ? यसले तपाईको जस्तो विद्यालयलाई कसरी सहयोग गरिरहेको छ ?

विद्यालय शिक्षालाई सेवा, पेशा र व्यवसायीक रुपमा अगाडी बढाउन बौद्धिकता, सिप , क्षमता तथा आर्थिक लगानी गरेका देशका शैक्षिक व्यक्तित्व ÷सँस्थाहरुको साझा संगठन हो प्याब्सन जसमा सामुहिक शक्ति छ । हाम्रो जस्तो उदाउदो विद्यालयहरुलाई प्याब्सनले संरक्षणत्मक नीति लिनुपर्दछ । जसले भविष्यमा यसलाई मजबुत बनाउन सहयोगी भूमिका खेल्न सक्दछन । परीक्षा, रचनात्मक अतिरिक्त क्रियाकलाप, विद्यालय लिडरसिप तथा विषयगत तालिम मार्फत हामी लाभान्वित छौँ साथै शिक्षाका राष्टिय नीति तथा कार्यक्रमका विषयमा भएका छलफलहरुले पनि हामीलाई सहयोग पुगेको छ ।

तपाईको विद्यालयले विद्यार्थीहरुलाई कस्तो शिक्षा दिईरहेको छ ?

हाम्रो विद्यालय एक उदाउँदो विद्यालय हो । हामी एक आदर्श नागरिक निर्माण गर्न चाहन्छौ । हामीले शिक्षाका राष्टिय उद्देश्यहरुलाई मर्ममा राखेर शिक्षा दिइरहेका छौँ । हामीले परियोजना कार्य, विद्यार्थीहरुको व्यक्तित्व तथा सामुहिक कार्य प्रस्तुति, गणित शिक्षणमा एबाकसको प्रयोग जस्ता शैक्षिक उपकरणहरुको प्रयोग गरिरहेका छौँ । अझ भन्नु पर्दा विश्व ब्यापी नीति अनुरुपको आधुनिक प्रविधिको प्रयोग गर्दै सीपमूलक प्रयोगात्मक, ब्यवहारिक शिक्षा दिदै आईरहेकाछौ ।

नेपालको सन्दर्भमा सरकार परिवर्तन भए संगै शिक्षामा हलचल हुन्छ । शिक्षा र राजनीति विच कस्तो सम्बन्ध पाउनुहुन्छ ?

नेपालको सन्र्दभमा यहाँले एकदमै सहि विषय उठान गर्नुभयो । मेरो विचारमा शिक्षा र राजनीति विच नङ मासुको जस्तै सम्बन्ध रहनुपर्छ जसले देशको मुहार फेर्न सक्छ यदि सहि बाटोमा हिँडाउन सकियो भने । शिक्षा र राजनीति एक अर्कामा आदर्श बन्नु सक्नुपर्छ, हामीमा एकातर्फ आधुनिक शिक्षाको इतिहास लामो छैन भने अर्को तर्फ राजनीति आर्दश र सेवामुलक संस्कार सँस्थागत हुन सकेको छैन । समय समयमा यी दुवै एक अर्कामा आक्रामक रुपमा देखिन्छन् उद्देश्य एउटै भएपनि सामाजिक रुपान्तरण र सम्बृद्धिको । जसको परिणाम स्वरुप मुलत शिक्षण र शिक्षालाई जिवनको आधार र आदर्श बनाउन चाहने राष्टका होनहार युवा जनशक्तिहरु जिवनबाटै निराश र विमुख हुन पुग्ने अवस्थाहरु व्यक्तिगत र आमसञ्चारका माध्यमबाट प्रतिविम्बित हुन्छन् ।

अबको शिक्षा कस्तो हुनुपर्दछ ?

शिक्षाले व्यक्तिलाई व्यवहारिक जिवनतर्फ उन्मुख बनाउनुपर्छ । अवको शिक्षा जिवनमुखी, जगतमुखी, विश्वव्यापी र मानवीय मूल्यलाई सम्मान गर्ने हुनुपर्दछ, जसले सामाजिक संरचनाहरुलाई समतामुलकबाट समानतातर्फ डो¥याउन सकोस । बिरामीलाई चुरोट, खैनी र नसालु पदार्थ सेवन गर्नुहुदैन भन्दै सचेत गराउँने डाक्टरले कुना पसेर चुरोट र नसालु पदार्थ सेवन नगरुन । बाल अधिकार र महिला उन्मुक्तिको सार्वजनिक बक्तव्य दिने नेताहरुका घरमा बालमजदुर महिला हिंसाका घटना नघटुन । ऋण लिएर विश्वविद्यालयका अध्ययन पुरा गरेका भनिएका शैक्षिक जनशक्तिले चर्को व्याजदरमा बैदेशिक रोजगारीका लागि ऋण लिनु नपरोस् ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

नेपालको शिक्षा विकासमा अग्रजहरुले जे जस्ता प्रयासहरु गर्नुभयो उहाँहरुलाई सम्मान गर्दै अवको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनामा सुहाउँदो शिक्षा प्रणाली विकास गरौँ जसले विद्यमान राजनैतिक संस्कार, सामाजिक कुरुति र समस्या, बेराजगारी, बैदेशिक परनिर्भरता, प्रतिभा पलायन जस्ता चुनौतीहरु सहजै सामना गर्दै हामी सबै मिलेर अगाडी बढ्न सकौँ । प्रस्तुती : अर्जुन श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर