पूर्वाञ्चल खबर
विराटनगर / हास्य कलाकार सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) प्रदेश नं.१ सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि सद्भावना दूतमा नियुक्त भएका छन् ।
सामाजिक विकास मन्त्रालय र हास्य कलाकार धुर्मुस एवं सुन्तली बीच आज प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेर सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)सँग औपचारिक सम्झौता गरेको छ । प्रदेश सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहाल र हास्य कलाकार धुर्मुस सुन्तलीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
एक वर्ष अवधि रहने सद्भावनादूतले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना २०१६–२०२१ ले स्वस्थ जनीवशैली प्रवद्र्धनसम्बन्धी सञ्चार कार्यक्रमलार्य प्राथमिकता दिएर अभियान सञ्चालन गर्नु पर्ने, स्थास्थ्य प्रवद्र्धनका लागि प्रदेश सरकारले स्वस्थ्य नागरिक, स्वस्थ प्रदेशको नीति अवलम्बन गर्दै स्वास्थ्य जीवनका लागि खानपान, सरसफाई र योग तथा व्यायामलार्य अभियन्ताले प्रमुख प्राथमिकता दिनु पर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
प्रदेश सरकारको प्राथमिकतामा रहेको विषयलाई प्रभावकारी कार्यान्वयनका लागि आम जनसमुदायमा सचेतना सञ्चार गर्नु सामाजिक विकास मन्त्रालयको दायित्वलाई अभियन्ताले आत्मसाथ गर्नु पर्ने, अभियन्ताले प्रदेश सरकारको “ एक घर, पाँच योग, पाँच जडिबुटी, पाँच वटा सकारात्मक व्यवहार ”, “मेरो फोहोर म आफैँ सफा गर्छु”, “ समुदायको सरसफाईमा मेरो दायित्व” जस्तानारा सहित दैनिक जीवन पद्धति, व्यवहार, सरसफाई, पोषण आदिलाई जोडेर स्वस्थ जीवन कार्यक्रमको प्रचार प्रसार अभियान सञ्चालन गर्न अभियन्ताको जिम्मेवारीमा पर्ने भनिएको छ ।
सरकारले सद्भावना दूतहरूलाई आफ्ना कार्यक्रमहरूमा सहभागि गराउने छ भने कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउन दूतहरूले सहयोग गर्नेछन्। प्रत्येक जिल्लामा कम्तिमा एउटा हुने गरी एक वर्षमा १६ ओटा कार्यक्रम गर्ने सहमति छ। दूतहरू कार्यक्रममा सहभागिताका क्रममा यातायात, आवास तथा खाना आदिको खर्च प्रदेश सरकारले उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख गरिएको छ। त्यस क्रममा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले अभियानले सकारात्मक परिणाम हासिल गर्ने विश्वास व्यक्त गरेका थिए। उनले सकारात्मक सोचको विकास गर्ने र स्वस्थय जीवनशैली बाँच्ने तरिकाको बारेमा जानकारी दिन अभियान महत्वपूर्ण हुने पनि बताए। सद्भावना दूत नियुक्त भएपछि बोल्दै अभियन्ता धुर्मुसले सरकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए। उनले भने ‘दूत भइयो जिम्मेवारी पाइयो भन्ने मात्र होइन एउटा कर्तव्यनिष्ठ नागरिकको दायित्व पनि पुरा गर्ने छौं र अभियानमा निरन्तर हामी लागिरहने छौं।’ नेपाल सरकारले धुर्मुस सुन्तलीलाई सन् २०१५ मा सरसफाई दूतको रूपमा जिम्मेवारी दिएको थियो । खुला दिशामुक्त अभियानमा उनीहरूले आफ्नो भूमिका सफलतापूर्वक पूरा गरेका थिए ।
प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई स्वस्थ र समृद्ध बनाउन सरकार शुरु देखि नै प्रयत्नशील रहेका बताए ।
सामाजिक अभियन्ता यी कलाकारले हात, भान्सा, पानी र हात धुने कामलाई पेचिलो तरिकाले आम नागरिकलाई प्रशिक्षित गर्ने आफ्नो विश्वास रहेको वताउँदै मुख्यमन्त्री राईले स्वस्थ्य नागरिक निर्माण गर्न यो अभियानले महत्वपूर्ण योगदान दिने बताए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले रोग लाग्न नदिन उपाय खोजी गर्न प्रदेश सरकार विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । उनले रोग लागि सकेपछि नागरिकको निकै जनधनको क्षति हुने भएकोले यसतर्फ नागरिक पनि सचेत रहनु पर्ने कुरामा जोड दिँदै ‘स्वास्थ्य प्रवद्र्धन वर्ष–२०७५’लाई मूर्त रुप दिन मानिसले खानपिन, सफाई र व्यायामप्रति केन्द्रीत रहनु पर्ने बताए ।