पूर्वाञ्चल खबर
हिजो साँझ झापाको अर्जुनधारा नगरपालिका–३ का ८२ वर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन् । उनको उपचारको लागि विर्तासिटी अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बिहीबार साँझ नै कमल गाउँपालिका–७ लालधोन्द्रास्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जाको करेन्ट लागेर मृत्यु भएको छ ।
मोरङको बेलबारी नगरपालिका–४ घर भएका १४ वर्षीय सन्देश धिमालको महेन्द्रको खेतमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएका थिए । उनको उपचारको लागि अस्पताल लैजानै क्रममा बाटैमा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।
उता सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले विद्युत लाइन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । क्रेनले ३३ केभिए प्रसारण लाइन छुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । आज विहान भएको उक्त दुर्घटनामा गाडी चालक बागलुङका २६ वर्षीय भुमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका २४ वर्षीय राम परियारको मृत्यु भएको हो ।