animated ellipse animated ellipse

लोकतन्त्र रक्षाकालागि मेरो उमेदवारी –नेता भण्डारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ असार २०७८, मंगलवार १५:१०
2.13k
Shares
नेपाली कांग्रेसको चौधौं महाधिवेशन संघारमै आइपुग्न लागेको छ । केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेसका नेता कार्यकर्ता स्वघोषित उमेदवारीमा उत्रिएका छन् । यसै सेरोफेरोमा सुनसरी जिल्लाका वर्तमान जिल्ला सचिव केदार भण्डारीले जिल्ला सभापतीमा उठ्ने घोषणा गरिसकेका छन् । वर्तमान कांग्रेसको अवस्था, उमेदवारी लगायतका विषयमा केन्द्रित रहेर दीपक निरौलाले गरेको कुराकानीको सारः

सुनसरी जिल्ला सभापतिमा यहाँको दावेदारी हो ?
हो ।

किन नि ? प्रदेश, केन्द्रतिर जाँदा हुँदैन ?
म सुनसरी जिल्लामा लामो समयदेखि हाम्रो पार्टी नेपाली कांग्रेसलाई गतिशिल बनाउन विभिन्न भूमिकामा रहँदै आएको छु । म कानूनको विद्यार्थी भएको हुँदा मेरो पेशा कानून व्यवशाय अर्थात अधिवक्ता हुँ । सुनसरी जिल्ला वार एसोसिएसनको पूर्व अध्यक्ष, प्रजातन्त्रवादी कानून व्यवशायी संघ (डीएलए)को केन्द्रीय उपाध्यक्ष, नेपाल बार एसोसिएसनको केन्द्रीय उपाध्यक्ष भएर आएको हुँ । त्यसका साथै नेपाली कांग्रेसको सुनसरी जिल्ला सचिवमा दुई पटक निर्वाचित भएर अहिले दोस्रो कार्यकालको अन्तिम चरणमा छौं । सुनसरी जिल्लामा रहेका कांग्रेसका संगठित सदस्यहरूलाई एकतावद्ध गराएर संगठनलाई सुदृढ बनाउन । पार्टीमा रहेका विकृति र विसंगतिका विरुद्ध आवाज उठाउनका लागि मैले पार्टी सभापतिमा उमेदवारी दिने घोषणा गरेको हुँ । संगठनमा गर्न बाँकी अधुरा तथा अपुरा कामलाई पूर्णता दिन र जिल्लाका सम्पूर्ण कांग्रेसी अग्रज तथा मित्रजनको शुभेच्छाका लागि हो । हिमाल चढ्न हिंडेको गाई हिमाल नपुगी थाक्दैन भनेझैं आगामी दिनमा प्रदेशदेखि लिएर केन्द्रसम्मको यात्रामा निस्कनका लागि नै आफूलाई परिपक्क बनाउँदै गरेको अवस्था हो ।

प्रतिस्पधी अरुपनि होलान् नि ?
कांग्रेस भनेको वृहद प्रजातान्त्रीक पार्टी हो । अर्काे शब्दमा भन्नुपर्दा यो एउटा महासागर हो । महासागर त्यतिकै बन्दैन । यसमा अन्य आकांक्षी हुनु स्वभाविक हो । यसलाई अन्य अर्थमा लिन मिल्दैन ।

सुनसरी जिल्लामा दुई कार्यकाल सचिवको भूमिकामा रहँदा के–के काम गर्नुभयो ?
सुनसरी जिल्लाबाट गत निर्वाचनमा प्रतिनिधिसभाका पाँचवटा क्षेत्रमध्ये तीनवटा क्षेत्रमा, प्रदेशसभामा तीनवटा र स्थानीय तहमा १२ वटा मध्ये नौवटा पालिका र जिल्ला समन्वय समितिमा कांग्रेसले वर्चस्व कायम राखेको अवस्था हो । माथिको भनिएको नतिजाले नै हाम्रो कामको मूल्याङ्कन काफी छ । तर, सवै पूर्ण भने भएको अवस्था होइन । सुनसरी जिल्लालाई कांग्रेसमय बनाउनका लागि कमी कम्जोरीलाई सच्याउँदै सभापतिमा उमेदवारी घोषणा गरेको हुँ ।
कांग्रेसमा घात अन्र्तघात धेरै हुन्छ भन्नेकुरा सत्य हो ?
नदी जति बग्छ त्यसको बेगले नदीलाई शुद्ध बनाएझैं पार्टीलाई सुदृढ बनाउनका लागि गरिएका प्रयास हुन । यसलाई घात र अन्र्तघात भन्न मिल्दैन । नीति र विचारलाई जति बहस र छलफलमा ल्याउन सक्यो त्यतिनै पार्टी मजवुद भएर जाने हो ।

जिल्ला सभापतिमै तपाईंको उमेदवारी चाहिं किन ?
नेपाली कांग्रेसलाई चुस्त दुरुस्त बनाउन । पार्टीमा भएका विभेदलाई अन्त्य गर्न । गुट उप–गुटलाई अन्त्य गर्न । बेथिति विसंगति अन्त्य गर्न । भ्रष्टाचार निर्मूल गर्न । जातिय विभेद अन्त्य गर्न । सर्वसाधारण जनतालाई लोकतान्त्रिक गणतन्त्रको अनुभूति दिलाउनकालागि जनतामा समर्पित भएर काम गर्ने तिव्र ईच्छालाई अभिप्रेरित गर्न मैले चौधौं महाधिवेशनका लागि सभापतिमा उमेदवारी दिएको हुँ ।

गुट उप–गुटको कुरा गर्नुभयो, तपाईंचाहिं कुन गुटको ? गुट उप–गुट सही हो ?
म नेपाली कांग्रेस गुटको व्यक्ति हुँ । पार्टीलाई क्रियाशिल बनाउन विभिन्न विचारहरू आउँछन् । गतिशिलताको लागि गुट उपगुट हुनु स्वभाविक हो । पार्टीमा असल विचारको अवलम्वन हुनुपर्छ । तर व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि गुटलाई मौलाउन दिनुचाहिं नराम्रो हो ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मेरा सम्पूर्ण अग्रज तथा साथिभाईहरूलाई नेपाली कांग्रेसको चौधौं महाधिवेशनको महान पर्वमा उत्साहपूर्वक सहभागि भईदिनुहुन विनम्र अनुरोध गर्दछु । लोकतन्त्र रक्षाका लागि साथै असल नेतृत्व चयन गर्न हार्दिक अपिल गर्दछु । यस पटकको निर्वाचनमा नेतृत्व दिन सक्ने असल कांग्रेसीजनलाई नेतृत्व तहमा पु¥याउन सकिएन भने केवल यो अधिवेशनमा मात्र सीमित रहने छ । यसरी पार्टी सफल हुँदैन । पार्टी सफल बनाउन असल नेतृत्वको आवश्यकता पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर