पूर्वाञ्चल खबर
धरान / पानवारीमा जारी चौथो भलिबल कपको उपाधी आयोजक सयपत्री बोइज युनियन क्लबले जितेको छ । उपाधीसँगै आयोजकले नगद ७५ हजार र ३० तोला बढीको चाँदीको ट्रफि हात पारेको छ । त्यस्तै उपविजेता भएको भोजपुरले नगद रु ४१ हजार चित्त बुझाएको छ ।
आज धरान–६ पानवारी स्थित सिमल चौरीमा सम्पन्न फाइनल खेलमा आयोजक सयपत्री बोइज युनियन क्लबले आमचोक गाँउपालीका भोजपुरलाई २५–१९, २५–२३ र २५–१९ को सोझो सेटले पराजित गरेको हो । आयोजक क्लबले क्वाटर फाइनलमा सबुज गण इटहरी र सेमिफाइनलमा धरान भलिबल क्लबलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो । आमचोक गाँउपालीका भोजपुरले क्वाटर फाइनल खेलमा सशस्त्र प्रहरी बल पकली र सेमिफाइनलमा एक नं. प्रदेश प्रहरी रानीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
फाइनल खेलको म्यान अफ द फाइनल भोजपुरका रोशन विक घोषित भए । त्यस्तै गरी बेष्ट स्पाइकर भोजपुरकै हरि पाण्डे, बेष्ट लिफ्टर सयपत्रीका मुस्कान लिम्बू, बेष्ट डिफेन्स सयपत्रीका बसन्त राई घोषित हुँदै नगद ५ हजार पुरस्कार जितेका छन् भने प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी सयपत्रीका सञ्जय बुढाथोकी घोषितहुँदै नगद रु १० हजार पुरस्कार जितेका छन् ।
प्रतियोगिताको विजेतालाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्ट, नेकपाका नेता रमेश बस्नेत, औजार दैनिक पत्रिकाका अध्यक्ष मोतिराज सुनुवारलगायतले पुरस्कार वितरण गरेका थिए ।