खबर पूर्वाञ्चल
आफूलाई प्रहरीको रूपमा चिनाउने गिरोहले असार ११ गते बिहान विराटनगर–१३ को महतो टोलबाट विक्रमकुमार साहलाई अपहरण गरी नगद लुटपाट गरेका थिए।
मोरङ प्रहरीका अनुसार अपहरण र लुटपाटमा संलग्न समूहका दुई सदस्यलाई आइतबार पक्राउ गरिएको छ। पक्राउ पर्नेमा विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय तासिब अन्सारी रहेका छन्। घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार छन्।
प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार तीन जनाको समूहले महतो टोलबाट अपहरण गरेर विक्रमलाई आँखा अस्पताल छेउ हुँदै रेल–वे लाइनतर्फ लगेको थियो। त्यहाँ पुर्याएर उनीसँग रहेको ३ लाख ६४ हजार रुपैयाँ लुटिएको अनुसन्धानबाट खुलेको छ।
लुटिएका रकम विक्रमले विराटनगर–१५ का धर्मानन्द साहबाट सापटी लिएका थिए। घर फर्कंदै गर्दा बाटैमा ‘प्रहरी हौं’ भन्दै समातिएको र ‘पछाडि फर्केर हेरेमा मारिदिन्छौं’ भन्दै धम्क्याएर रकम लुटिएको विक्रमले बताएका छन्।
पक्राउ परेका दुबैजनामाथि अपहरण, शरीर बन्धक र डाँका मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ भने फरार अभियुक्तको खोजी भइरहेको छ।