पूर्वाञ्चल खबर
चार बिघा जमिनमा फूलखेती गर्न राजवंशीले करिब १२ लाख रुपैयाँ लगानी गरेका छन् । मल, औषधि, सिँचाइ र कामदारको खर्च जोड्दा लगानी कम छैन । उत्पादन र बिक्री राम्रो भए यस वर्ष आम्दानी पनि राम्रो हुने उनको अपेक्षा छ । तर, वर्षभरि गरेको मिहिनेतको प्रतिफल पाउनेमा उनी ढुक्क छैनन् । कारण हो– भारतबाट अवैध रूपमा भित्रिने सस्तो सयपत्री फूल ।
‘‘हामीले ऋण खोजेर खेती गरेका छौँ । मल, औषधि, सिँचाइ र कामदारमा ठूलो खर्च हुन्छ,’’ राजवंशीले भने, ‘‘भारतबाट चोरीतस्करी गरेर फूल ल्याइयो भने हाम्रो उत्पादनले बजार पाउँदैन । सीमामा कडाइ गरेर अवैध फूल भित्रिन रोक्नुपर्छ ।’’ राजवंशीले दुई वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फूलखेती गर्दै आएका छन् । गत वर्ष दुई बिघामा खेती गरेका उनले यस वर्ष उत्पादन बढाउने उद्देश्यले क्षेत्रफल दोब्बर बनाएका हुन् । गत वर्ष लगानी उठ्ने गरी आम्दानी नभए पनि घाटा बेहोर्नु नपरेको उनको अनुभव छ । यस वर्ष फूलको अवस्था राम्रो भएकाले आम्दानी बढ्ने आशा उनले गरेका छन् ।
तर, केही दिनअघि परेको वर्षाले उनको आशामा धक्का पु¥यायो । खेतमा फुलिसकेका फूलमध्ये करिब एक हजार किलो वर्षाका कारण नष्ट भएको उनले बताए । प्राकृतिक विपत्तिसँग जुधेर बाँकी उत्पादन जोगाउने प्रयासमा रहेका उनलाई अब बजारमा भारतीय फूलको प्रतिस्पर्धाले थप चिन्तित बनाएको छ ।
राजवंशीको बारीमा उत्पादित फूल विराटनगरसँगै मोरङ, सुनसरी र झापाका बजारमा पुग्छ । मागअनुसार काठमाडौंसम्म पनि फूल पठाउने गरिएको छ । तिहारमा काग तिहारदेखि बिक्री बढ्ने भएकाले अहिले टिपिएका फूल शीतभण्डारमा राखिँदै छन् । तिहार र छठसम्म बिक्री हुने गरी उत्पादन व्यवस्थापन गरिएको उनले बताए ।
विराटनगरमा उनको आफ्नै फूल बिक्री गर्ने पसल पनि छ । वर्षभरि सजावटका लागि फूलको माग हुने भएकाले गाउँमा खेती विस्तार गरेको उनी बताउँछन् । सयपत्रीसँगै अन्य प्रजातिका फूल र तरकारीसमेत लगाउने गरेका छन् ।
‘‘हामीले उत्पादन गरेको फूल बजारमा बिक्री होस् भन्ने चाहना हो । तर, भारतबाट अवैध रूपमा सस्तो फूल आएपछि स्वदेशी उत्पादनले मूल्य पाउँदैन,’’ उनले भने, ‘‘सरकारले आयातमा प्रतिबन्ध लगाएको छ भने त्यसको कार्यान्वयन पनि कडाइका साथ गर्नुपर्छ ।’’
महिलाको सामूहिक लगानी, बजारको चिन्ता
मोरङका किसान राजवंशीको जस्तै चिन्ता झापाको शिवसताक्षी नगरपालिका–१० मा सामूहिक रूपमा सयपत्री फूलखेती गरिरहेका महिलाको पनि छ । स्थानीय कविता बस्नेतको संयोजकत्वमा रहेको समूहले करिब छ कठ्ठा जमिनमा १० हजार सयपत्रीका बिरुवा हुर्काएको छ ।
समूहका महिलाका लागि फूलखेती केवल तिहारमा माला बिक्री गर्ने व्यवसाय मात्र होइन, आफ्नै गाउँमा रोजगारी सिर्जना गर्ने माध्यम पनि बनेको छ । घरायसी कामसँगै खेतीमा संलग्न उनीहरू अहिले फूल टिप्ने, माला गाँस्ने र बजारसम्म पु¥याउने तयारीमा जुटेका छन् ।
यस वर्ष फूलको उत्पादन राम्रो भएकाले बिक्रीबाट करिब तीन लाख रुपैयाँ आम्दानी गर्ने उनीहरूको लक्ष्य छ । एउटा सयपत्री माला एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा बिक्री हुने अपेक्षा समूहको छ । तर, भारतबाट अवैध रूपमा आउने फूलले बजार बिगार्ने चिन्ता उनीहरूलाई पनि छ ।
‘‘फूलखेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका छौँ,’’ बस्नेतले भनिन्, ‘‘त्यसका लागि भारतबाट अवैध रूपमा हुने फूलको चोरीतस्करीमा स्थानीय प्रशासनले पूर्ण रोक लगाउनुपर्छ ।’’ उनका अनुसार भारतीय फूल सस्तो मूल्यमा बजारमा आउने भएकाले स्थानीय किसानले उत्पादन गरेको फूल बिक्री गर्न कठिन हुने गरेको छ । स्वदेशी उत्पादनले उचित मूल्य पाउन सके मात्रै किसानले आगामी वर्ष पनि खेती विस्तार गर्न सक्ने उनी बताउँछिन् ।
खुला नाकाबाट फूल तस्करी, कोल्ड स्टोरमा भण्डारण
किसानहरू तिहारको बजार पर्खेर फूल टिप्न र माला बनाउन व्यस्त भइरहेका बेला सीमापारिबाट भने अवैध रूपमा सयपत्री फूल भित्र्याउने समूह सक्रिय देखिएको छ । भारतबाट फूल ल्याएर सिधै बजारमा बिक्री गर्नुको सट्टा शीतभण्डारमा राख्ने र तिहारको मुख्य समयमा महँगो मूल्यमा बिक्री गर्ने योजनासहित तस्करी भइरहेको सुरक्षा निकायको अनुसन्धानबाट खुलेको छ ।
मोरङ र झापामा पछिल्ला दिनमा भएका बरामदले फूल तस्करीको जालो कति संगठित रूपमा सञ्चालन भइरहेको छ भन्ने देखाएको छ । १४ कात्तिक (शनिबार) सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले मोरङका विभिन्न स्थानबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरको अवैध सयपत्री फूल बरामद ग¥यो । भारतबाट ल्याइएको उक्त फूल बुढीगंगास्थित ग्लोबल कोल्ड स्टोर र विराटनगर ४ मा रहेको राधाकृष्ण कोल्ड स्टोरमा भण्डारण गर्न लैजाँदै गर्दा नियन्त्रणमा लिइएको थियो ।
त्यसको दुई दिनपछि कात्तिक १६ गते सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–५ गोग्राहास्थित स्टन कोल्ड स्टोर प्रालिमा खानतलासी ग¥यो । त्यहाँ अवैध रूपमा भण्डारण गरिएका ३०५ पोका सयपत्री फूलका तयारी माला बरामद भए । ती मालाको मूल्य २३ लाख २० हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि झापाको दमकबाट पनि भारतबाट तस्करी गरेर ल्याइएको ११ लाख २५ हजार रुपैयाँ बराबरको सयपत्री फूलका माला बरामद गरिएको थियो ।
मोरङ र झापाका यी तीन घटनामा मात्रै ५९ लाख ४५ हजार रुपैयाँ बराबरको अवैध फूल तथा माला बरामद भएको छ । तिहार नजिकिँदै गर्दा यसरी ठूलो परिमाणमा फूल बरामद हुनुले सीमावर्ती क्षेत्रमा तस्करीको सञ्जाल सक्रिय रहेको देखाउँछ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार कुनै पनि भन्सार प्रक्रिया पूरा नगरी र बिलबिजकबिनै भारतबाट फूल भित्र्याइएको पाइएको छ ।
‘‘तिहारका बेला अत्यधिक माग हुने भएकाले भारतबाट अवैध रूपमा सयपत्री फूल ल्याएर शीतभण्डारमा राख्न लागिएको गोप्य सूचना पाएका थियौँ,’’ एसपी भण्डारीले भने, ‘‘सोही आधारमा कोल्ड स्टोरमा लैजाने क्रममा फूल नियन्त्रणमा लिएका हौँ । सरकारले आयातमा बन्देज लगाएकाले बरामद गरिएको सम्पूर्ण फूल कानुनबमोजिम नष्ट गरिनेछ ।’’
सिटी सफारीमा फूल, शीतभण्डारमा माला
सशस्त्र प्रहरीको अनुसन्धानअनुसार फूल तस्करीका लागि सीमावर्ती खुला नाकाको प्रयोग हुने गरेको छ । जोगबनी र सुनसरीका विभिन्न नाकाबाट साना सवारीसाधन तथा सिटी सफारी (ई–रिक्सा) प्रयोग गरी फूल नेपाल भित्र्याउने गरिएको पाइएको छ ।
तस्कर समूहले सीमावर्ती क्षेत्रबाट थोरैथोरै परिमाणमा फूल ल्याएर विभिन्न स्थानमा जम्मा गर्ने र त्यसपछि शीतभण्डारमा पु¥याउने गरेको अनुसन्धानबाट खुलेको छ । यसरी ल्याइएको फूल तिहारको मुख्य दिन बजारमा बिक्री गर्ने उद्देश्यले भण्डारण गर्ने गरिएको थियो । भारतबाट तिहार सुरु हुनुभन्दा करिब एक साताअघि नै फूल ल्याएर राख्ने र माग उच्च हुने समयमा महँगो मूल्यमा बिक्री गर्ने उनीहरूको योजना देखिन्छ । त्यसका लागि स्थानीय शीतभण्डारसँग समेत भण्डारणको व्यवस्था मिलाइएको पाइएको छ ।
तस्कर समूहले १० वटा माला भण्डारण गरेबापत १५ रुपैयाँका दरले शीतभण्डारलाई भाडा तिर्ने गरी सम्झौता गरेको अनुसन्धानमा खुलेको छ । यसले फूल तस्करी केवल सीमामा फूल ओसारपसार गर्ने गतिविधिमा सीमित नभई भण्डारण र बजार व्यवस्थापनसम्म फैलिएको संकेत गर्छ । सीमाबाट साना सवारीमा फूल भित्र्याउने, विभिन्न ठाउँमा संकलन गर्ने, शीतभण्डारमा राख्ने र तिहारमा माग बढेपछि बजारमा पु¥याउने यस्तो योजनाले स्वदेशी किसानका लागि थप चुनौती खडा गरेको छ ।
आयातमा सर्त, कार्यान्वयनमा चुनौती
भारतबाट सयपत्री फूलको आयातमा विभिन्न सर्तहरु राखेर बन्धेज लगाइनुको उद्देश्य स्वदेशी पुष्प व्यवसायलाई संरक्षण गर्नु र जैविक सुरक्षाको जोखिम न्यूनीकरण गर्नु हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय प्लान्ट क्वारेन्टिन तथा बायोसेक्युरिटी केन्द्रले दुई वर्षअघिदेखि भारतबाट आयात हुने सयपत्री फूलमा अतिरिक्त सर्त लागू गरेको छ ।
केन्द्रका प्रवक्ता तथा वरिष्ठ बाली संरक्षण अधिकृत रोशन अधिकारीका अनुसार भारतबाट आउने फूलमा हुन सक्ने रोग, जीवाणु तथा कीराको जोखिमलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो ।‘‘जैविक सुरक्षालाई ध्यानमा राखेर दुई वर्षअघि यो निर्णय गरिएको हो,’ अधिकारीले भने, ‘‘बाहिरबाट आउने फूलमा रोग, जीवाणु तथा कीरा हुन सक्छन् । तिनले नेपालको जैविक विविधता र कृषि क्षेत्रमा असर पु¥याउन सक्ने भएकाले अतिरिक्त सर्त राखिएको हो ।’’उनका अनुसार आयातमा लगाइएका सर्तको उद्देश्य स्वदेशी उत्पादनलाई संरक्षण गर्नु मात्रै नभई भविष्यमा आउन सक्ने जैविक जोखिमसमेत रोक्नु हो । तर, वैधानिक आयातमा प्रतिबन्ध वा कडा सर्त लागू भए पनि खुला सीमाको फाइदा उठाएर अवैध रूपमा फूल भित्रिने क्रम रोकिएको छैन । यसले प्रतिबन्धको प्रभावकारी कार्यान्वयनमाथि प्रश्न उठाएको छ । सीमामा निगरानी र बजारमा अनुगमन प्रभावकारी नहुँदा तस्कर समूहले प्रतिबन्धित वस्तु भित्र्याउने बाटो खोजिरहेका छन् । शीतभण्डारसम्म फूल पुग्नुले सीमामा मात्रै नभई भण्डारण गर्ने व्यावसायिक प्रतिष्ठानहरूको भूमिकामाथि पनि अनुसन्धान आवश्यक देखिएको पुष्प व्यवसायी राजकमुार राजवंीले बताए ।
८० देखि ८५ प्रतिशत माग स्वदेशी उत्पादनबाटै धानिने अनुमान
नेपालमा तिहारका बेला सयपत्री फूलको माग उच्च हुने गर्छ । घर, मठमन्दिर, कार्यालय तथा सार्वजनिक स्थल सजाउन र माला लगाउन सयपत्री फूलको प्रयोग व्यापक हुन्छ । यही मागलाई लक्षित गरेर पछिल्ला वर्षमा मोरङ, सुनसरी र झापासहित देशका विभिन्न जिल्लामा व्यावसायिक फूलखेती विस्तार भइरहेको छ ।
चालू वर्ष तिहारका लागि स्वदेशी उत्पादनले नै बजारको करिब ८० देखि ८५ प्रतिशत माग धान्ने अनुमान गरिएको छ । यसले स्वदेशी पुष्प व्यवसायमा भएको विस्तार र किसानको लगानी बढ्दै गएको देखाउँछ । तर, मागको ठूलो हिस्सा स्वदेशी उत्पादनले धान्न सक्ने अवस्थामा समेत अवैध रूपमा भारतीय फूल भित्रिनुले किसानको लगानी जोखिममा परेको छ । ‘‘किसानले जमिन भाडामा लिने, बीउ तथा बिरुवा खरिद गर्ने, मल र औषधि प्रयोग गर्ने, सिँचाइ गर्ने र कामदार लगाउनेसम्मका खर्च बेहोरेर फूल उत्पादन गर्छन् । उत्पादन राम्रो भए पनि बजारमा मूल्य नपाए उनीहरूको लगानी डुब्ने जोखिम रहन्छ । त्यसैले किसानका लागि फूलखेतीको सफलता उत्पादनमा मात्रै होइन, बजारको सुनिश्चिततामा पनि निर्भर छ,’ कृषक राजवंशीले भने ।