RUMPUM
animated ellipse animated ellipse

निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले काम गर्न आवस्यक : राष्ट्रपति पौडेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ पुष २०८०, शनिबार १८:३७
126
Shares
तस्वीर : पुष्पराज थपलिया
विराटनगर / राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले काम गर्न आवस्यक रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् । कुल लगानीमा दुई तिहाई भन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समिक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी रहेको उनले बताए ।

राष्ट्रपति पौडेलले भने,‘ स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्दछ ।’ कोशी प्रदेश नेपालको उद्योग व्यवसायको धरोहर भएकाले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता र संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको राष्ट्रपति पौडेलको भनाई छ ।

कोभिड–१९ महामारीको प्रभाव स्वरूप अर्थतन्त्र शिथिल भएको अवस्थामा पनि पुनरुत्थान गर्न सरकारले चालेका कदमले केहीसकारात्मक प्रभाव राष्ट्रपति पौडेलले बताए । उनले भने,‘ जसरी आन्तरिक अर्थतन्त्र चलायमान हुनपर्ने हो त्यसरी हुन सकिरहेको छैन । फलस्वरूप, रोजगारी सृजना लगायत आन्तरिक उत्पादनमा वृद्धि भई निर्यात बढ्न सकेको छैन भने राजश्वको लक्ष्य पनि प्राप्त गर्न गाह्रो परिरहेको छ ।’ सरकारले अर्थतन्त्रको सुधारका लागि चालेका कदम तथा रणनीति, निजी क्षेत्रको सहयोग स्वरूपबाह्य क्षेत्र मजबुत अवस्थामा रहेको उनले बताए ।

विप्रेषणको वृद्धि दर राम्रो हुनुका साथै शोधानन्तर स्थिति बचतमा रहेको र हाम्रो जस्तो देशको लागि विदेशी सञ्चितिको स्थितिले बढी महत्व राख्ने राष्ट्रपति पौडेलको भनाई छ ।

कार्यक्रममा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्की, पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतदे बोलेका थिए । कार्यक्रममा कोशी प्रदेशका २१ जना प्रजातन्त्र सेनानी, बरिष्ठ पत्रकारहरु अनन्तराज न्यौपाने र शंकर खरेल, उद्योगीलगायत सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर