पूर्वाञ्चल खबर
प्रदेश सरकारले हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गर्दै गर्दा फेरी राजधानी मागको मुद्दाले चर्चा पाउन थालेको छ । मुलुक संघिय संरचनामा जानु अघि प्रमुख प्रशासनिक केन्द्र रहेको धनकुटा राजधानी माग गर्ने सहरहरु मध्ये अग्र स्थानमा रहेको छ । धनकुटा पछि इटहरी र विराटनगरले राजधानीको माग गरिरहेका छन् । करिब तीन महिना सडक संघर्ष गरेको धनकुटा हिउँदे अधिवेशनमा पनि आन्दोलन गर्ने तयारी गर्दैछ ।
राजधानीको माग गरिरहेको धनकुटा पछिल्लो १० महिनायता ‘बेहुली अन्माएको घर जस्तै बनेको स्थानीय अगुवाहरु बताउँछन् । राजधानी सरेपछि धनकुटाको बजार पनि खच्कीएको छ । प्रशासनिक केन्द्रले गुल्जार बनेको धनकुटाबाट पछिल्लो समय व्यवसायीहरु पनि पलायन हुन थालेका छन् ।
प्रशासनिक केन्द्र सरेपछि बसाई सरेर जानेको संख्या पनि बढेको पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष बिजयसन्तोषी राई बताउँछन् । ‘बसाइ सरेर जानेहरुको संख्या पढ्दो छ ।’ उनी भन्छन ‘धनकुटा बेहुली अन्माएको घर जस्तै बनेको छ ।’ बजार व्यवसाय पनि खच्कीएको उनको गुनासो छ ।
धनकुटाको व्यापार व्यवसाय प्रशासनिक केन्द्रका कारण चलेको थियो । तर मुख्य प्रशासनिक केन्द्र विराटनगर सरेपछि बजार खच्कीएको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ बताउँछन् । प्रदेश सरकारले धनकुटालाई अन्याय गर्न नहुने उनको भनाई छ ।
प्रशासनिक केन्द्रको रुपमा चलेको धनकुटा संघियता कार्यन्यनमा आएपछि अन्यायमा परेको नागरिक समाज अगुवा सुन्दरबाबु श्रेष्ठ बताउँछन् । राजधानीको मागकालागि माघ पहिलो साताबाट आन्दोलन सुरु गर्ने तयारीमा स्थानीय जुटेको उनले बताए ।
प्रशासनिक केन्द्र सरेपछि धनकुटाको सौन्दर्य नै गुमेको श्रेष्ठको गुनासो छ । बिगतमा प्रशासनिक केन्द्र धनकुटा मै रहेपनि धेरै कार्यालयहरु विराटनगर केन्द्रीत हुदा धनकुटा केही हदसम्म अन्यायमा परेको थियो । तर अहिले सबै केन्द्र नै सरेपछि धनकुटा पुग्ने पर्यटकको संख्यामा पनि कमि आएको श्रेष्ठको दाबि छ ।
धनकुटाबाट निर्वाचित प्रदेश सभा सदस्य निरन राई मुकाम सरेपछि अन्यायमा परेको धनकुटाको विकाशकालागि प्रदेश सरकार चनाखो हुनु पर्ने बताउँछन् । मुख्यमन्त्री सेरधन राईसँगबाट धनकुटाबासी आसाबादी रहेको बताउँदै उनी भन्छन् ‘प्रदेश सरकारले धनकुटेलीहरुको चित्त बुझाउँनु पर्छ ।’
प्रशासनिक केन्द्र विराटनगरमा सरेपछि ओझेलमा परेको धनकुटाको रौनक विस्तारै फर्कन थालेको उनको तर्क छ । प्रदेश सरकारले धनकुटामा सामाजिक विकास मन्त्रालय मातहतको शिक्षा र स्वास्थ्य निर्देशनालय स्थापना गरिसकेको छ । तेह्रथुमलाई समेत हेर्ने गरी पशु र कृषिका कार्यालय पनि उदघाटन भएका छन् । पछिल्लो समय धनकुटा पुगेका कार्यालयले केही आश जगाएको उनको भनाई छ ।
यता प्रदेश राजधानी र नाम तोक्ने हिउँदे अधिवेशन आह्वान गर्न लागिएको मुख्यमन्त्री शेरधन राई बताउँछन । वर्षे अधिवेशनमै टुंगो लगाउने तयारी भएपछि आवश्यक गृहकार्य नपुगेकाले माघ दोस्रो साताबाट सुरु हुने अधिवेशनले राजधानी र नाम टुंगो लगाउने उनले बताए । आइतबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले सबैलाई चित्त बुझ्ने गरी राजधानी तोक्ने तयारी भएको बताए ।
पूरानो केन्द्र
केन्द्रकृत शासन प्रणाली रहदा पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र धनकुटा थियो । धनकुटाको विकासमा पूर्व प्रधानमन्त्री स्वर्गिय सूर्यबहादुर थापाको नाम अग्र स्थानमा आउँछ । धनकुटालाई प्रशासनिक केन्द्र तोक्न र तराई हुदै पहाडी जिल्लाहरुमा सडक सञ्जाल पू¥याउन पनि थापाको भूमिका रहेको स्थानीय बताउछन् ।
भोजपुर, संखुवासभा, ताप्लेजुङ्ग, तेह्रथुमलगायत पहाडी जिल्लाहरुसँग सडक सञ्जाल जोडिएको धनकुटा बजारलाई २०४६ साल पछि नगरपालिका घोषणा गरिएको थियो ।
विराटनगरपछि बढी भौतिक संरचना निर्माण भएको सहर पनि धनकुटा नै हो । अस्थायी राजधानी घोषणा गर्ने क्रममा गरिएको सर्बेक्षणमा धनकुटाबाट १५ वटा कार्यालयलाई मन्त्रालयको रुपमा प्रयोग गर्न सक्ने सिफारिस गरिएको थियो ।
२५ भन्दाबढी सरकारी भौतिक संरचना रहेको विराटनगरका ११ वटा कार्यालयलाई मन्त्रालय बनाउन सकिने सिफारिस गरिएको थियो ।
कूल ११०.०८ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको धनकुटा नगरपालिका धरानबाट ५२ किलोमिटर उत्तर तर्फ पर्छ । ९४६० घरधुरी रहेको धनकुटामा ३६,६१९ जनसंख्या छ ।