AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा किराँतीको महान चाड उधौँलीको रौनक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ पुष २०७५, शनिबार २१:४१
9
Shares

विराटनगर / किराँतीको महान् चाड उधौँली पर्व आज धुमधामले मनाएका छन् । प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिनदेखि मनाइने उधौँली यस वर्ष पनि किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाउन शुरू गरेका छन् ।

राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाउन थालेका छन् । राई जातिले उधाँैली साकेला, लिम्बू जातिले चासोक तङनाम (न्वागी पूजा), याक्खा जातिले चासुवा, सुनुवार जातिले फोलस्याँदर र भुजेलले भुजेली पर्वको नामले यो पर्व मनाउने गरेका छन् ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । परम्परादेखि घरघरमा चासोक तङनाम मनाउँदै आए पनि पछिल्लो समय यसलाई चार किराँतीले आफ्नै शैलीमा सामूहिक माङहिम र स्थलमा भेला भई मनाएका छन् ।

युवा सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल ‘पक्लुङ’ (छेलो), सामूहिकरुपमा केलाङ (च्याब्रङ) बजाएर ‘छुई छुई हा, सरलाइमा सर’ भन्दै नाच्छन्
मंसिरको पूर्णिमा यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ । यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ ।

नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा(गोठधुप) गर्ने चलन छ । गोठ सफासुग्घर गरी गाईबस्तुको विशेष पूजा गर्ने चलन छ। कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने चलन छ । स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ ।

कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाइन्छ। नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा छ। कतिपय स्थानमा कुलदेवताका पूजामा पशुवलि पनि दिइन्छ ।

नेवार समुदायमा थिन्ला पुन्हि वा ‘योमरी पुन्हि’का रूपमा यो पर्वको महत्त्व छ । अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ । लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ ।

लिम्बू जातिमा बाली भित्र्याएपछिको न्वागी खाने पर्वको रूपमा मंसिरे पूर्णिमा मनाइन्छ। किरात समुदायका कतिपय जातजातिमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन छ। उधौली किरात समुदायको मुख्य चाड हो। लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर मनाउँछन् । गुरुङले सिमेभूमेको पूजा गर्ने न्वागी खान्छन् ।

पूर्वका थारूहरूले नेमान गर्ने, आगनको ध्वजा फेर्ने र छोराको ‘वर्तमन’ गर्ने गर्छन्। धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चडाउने र नेमानमा पूजा गर्ने गर्छन्। किराँत समुदायकोे मूख्य पर्व साकेला उभौली वैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ ।

पर्वको अवसरमा विराटनगर –११ मा रहेको साकेला थानमा सवै किराँत समुदायका सवै उमेरका मानिसहरु भेलाभई चण्डी नाच नाच्ने मनाएका छन् । चण्डी नाचमा किराँत समुदायका मात्र नभएर अन्य समुदायका बाहुन, क्षेत्री, नेवारका साथै मधेशी समुदायका यूवाहरु उल्लेख्य सहभागीता रहको थियो ।

उद्यौली पर्व परम्परादेखि मान्दै आएको निश्चित समुदाय वा जातिले मान्ने मात्र नभई पछिल्लो समय सवै समयमा अन्य समुदायको पनि यस पर्वमा उपस्थित रहने गरेको किराँत राई यायोख्खा नगर परिषद् विराटनगरकी अध्यक्ष विष्णु राईले जानकारी दिईन् ।

उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने चलन छ । प्रकृति पूजक किराँत समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभरका किराँत समुदायले यो पर्व मनाउने किराँत राई यायोख्खा नगर परिषद् विराटनगरकी सचिव कुन्ता राईले बताईन् ।

उधौलीको अवसरमा एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर किराँत समुदायका मानिस विभिन्न शैलीमा सोकवा साकेन्वा नाचेर यो पर्व मनाएका छन् । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर