खबर पूर्वाञ्चल
नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ लाई वृक्ष रोपण वर्ष घोषणा गरे अनुरुप देशभरमा पाँच करोड विरुवा रोप्ने लक्ष्य लिएको थियो भने मोरङमा यस अवधिमा डिभिजन वन कार्यालय मोरङसहित १६ वटा वन कार्यालयका नर्सरीबाट नौ लाख ३३ हजार विरुवा उत्पादन भई आठ लाख विरुवा निःशुल्क वितरण भएको डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले जानकारी दिए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश १ का कर्मचारी अनिरुद्र साहले यस प्रदेशमा फलफूल तथा जडीबुटी बाहेक ४२ लाख बोटबिरुवा उत्पादन एवं वितरण भएको जानकारी दिए । उनले पहाडी क्षेत्रमा प्रशस्त बोटबिरुवा एवं जङ्गगल क्षेत्र रहेकोले यस क्षेत्रका मानिसहरुले उत्पादन दिने र बजारमा लगेर बिक्री गर्ने खालको फलफूलका बोटबिरुवाको माग बढी रहेको जानकारी दिए ।
मोरङको सबै भन्दा उत्कृष्ठ तथा ठूलो सव डिभिजन वन कार्यालय सलकपुरबाट एक लाख विरुवा उत्पादन भई वितरण भएको प्रमुख लालबहादुर माझीले जानकारी दिए ।
वृक्ष रोपण वर्षमा आज राष्ट्रिय वृक्ष रोपण दिवस पनि भएकोले मोरङको सुन्दर हरैचा नगरपालिकाको वडा नं. ७ तथा केराबारी गाउँपालिकाको वडा नं. ८ लाई छुने १३ दशमलव पाँच हेक्टर वन क्षेत्र जग्गामा वृक्ष रोपण काम शुरु भएको छ ।
यसमा गएको असोजदेखि अहिले सम्ममा १० हेक्टर जग्गामा वृक्ष रोपणको काम सम्पन्न भएको छ भने बाँकी क्षेत्रमा आजदेखि तीव्र गतिमा वृक्ष रोपणको काम सुरु भएको छ । खयर, सिसौ,बाँस, जडीबुटी,लिची, कटहर, कुरिलो, सजिवन, मसला,केही फलफूलको विरुवा रोपाई भएपछि नजिकै रहेको लोहन्द्र नदीको कटान पनि कम हुने र वन क्षेत्र पनि विस्तार हुने डिभिजन प्रमुख घिमिरेले बताए ।
लोहन्द्रा नदीमा बर्षातको समयमा उर्लिएर तीव्र गतिमा आउने बाढीका कारण सो क्षेत्रमा कटान पनि तीव्र हुने भएकोले सरकारले यस्ता क्षेत्रको वनलाई संरक्षण गर्न नदीमा तटबन्धको पनि काम गर्नु पर्ने आवश्यकता देखिएको छ ।
उनले महेन्द्रराज मार्गदेखि तल दक्षिणी क्षेत्रमा वनले नछुने सार्वजनिक जग्गा, मठ मन्दिर, नदी किनारमा वृक्ष रोपणको कामलाई तीव्रता दिनुले यस क्षेत्रमा हरियाली पनि विस्तार हुने र जङ्गल क्षेत्र पनि बढ्नुका साथै पर्यावरण र वातावरण राम्रो हुने विश्वास व्यक्त गरे ।
आज मोरङकै सुन्दर हरैचा,, बेलबारी, लखनतरी, कटहरी जस्ता ठाउँमा व्यापक वृक्ष रोपणको अभियान सञ्चालन हुने पनि भनिएको छ ।