पूर्वाञ्चल खबर
तस्करी गरि ल्याएको औषधी विराटनगर – १३ का ३५ वर्षिय नरेश यादवको घरमा भण्डारन गरि राखिएको औषधी प्रहरीले सोमबार राती बरामद गरेको थियो । औषधी व्यवस्था विभागमा दर्ता नभएको चार कार्टुन विभिन्न नाम गरेको औषधी मोरङ प्रहरीले बरामद गरेपछि यादव फरार थिए । प्रहरीले मंगलबार दिउँसो विराटनगरबाट यादवलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
यादवको घरबाट विभागमा दर्ता नभएको औषधीहरू बरामद भएपछि सोधपुछको लागि नियन्त्रण लिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ‘मोरङ प्रहरी कार्यालयमा ल्याएर यादवलाई सोधपुछ भइरहेको छ,’ एसपी खड्काले भने, ‘अवैध रूपमा यति धेरै औषधी कहाँबाट ल्याए यस विषयमा अनुसन्धान भइरहेको छ ।’ भारतदेखि तस्करी गरि यादवले घरमा राखेको मोरङ प्रहरीलाई विशेष सूचना पाएपछि सिआरबी जतुवाको टोलीले छापा मारेको थियो । प्रहरीले यादवको घरदेखि ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेकेसन’ रहेको चार कार्टुन बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको दुवै इन्जेक्सन औषधी व्यवस्था विभागमा दर्ता छैन । मिथाइकल प्रिडनीसोलोन इन्जेक्सन भारतबाट तस्करी गरि नेपालमा ल्याउँदा महंगो मुल्यमा विक्री हुने गरेको यस क्षेत्रका जानकाहरू बताउँछन् । सो इन्जेक्सन २ देखि २ हजार ५ सय रुपैयाँ प्रतिगोटा विक्री हुने गरेको बुझिएको छ ।
तस्करी गरि ल्याएको औषधीको विषयमा औषधी व्यवस्था विभाग विराटनगरले पनि अनुसन्धान गर्ने भएको छ । यादवले विराटनगरका केही फार्मेसीले मगाएको औषधी तस्करी गरि ल्याएको प्रहरी स्रोतको दाबी छ । बरामद औषधी विराटनगरको दक्षिण क्षेत्रमा रहेका फार्मेसीको रहेको प्रहरीले स्रोतले जानकारी दिएको छ । यस विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
‘भारतदेखि तस्करी गरि ट्याक्टरमा औषधी ल्याएको विशेष सूचना आएपछि प्रहरीले निगरानी बढाएको थियो,’ सुरक्षा स्रोतले भन्यो, ‘यादवले फार्मेसीले मगाएको ठाउँमा तस्करीको औषधी पु¥याए वापत निश्चित रकम दिने गरेका रहेछ ।’ बालुवा, गिटीको कारोबार समेत गर्दै आएका यादवको ट्याक्टरमा मुनिबाट औषधीको कार्टुन र माथिबाट पराल राखि भारतदेखि औषधी तस्करी गरि ल्याउने गरेको विशेष सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो । यादवले टिकुलीया बस्ती हुदै दरैयाको बाटोबाट औषधी ल्याएको बुझिएको छ ।