पूर्वाञ्चल खबर
आज विराटनगरमा शूरु भएको १४ आंै जिल्ला अधिवेशनको अवसर पारेर प्याब्सन मोरङले ५ जना व्यक्तिलाई सम्मान गरेको हो । साहित्य र पत्रकारिता क्षेत्रमा विगत डेढ दशकभन्दा लामो समयदेखि सक्रिय रहेका मीनकुमार नवोदित, साहित्यकार देवी पन्थी र पत्रकार महासँग मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई एक नम्बर प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, प्याब्सन मोरङका अध्यक्ष सुनिल पौडेललगायतले दोसल्ला ओढाएर सम्मान गरे ।

शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएबापत विराटनगरस्थित सगरमाथा बोर्डिङ स्कुलका अध्यक्ष वासुदेव न्यौपाने र कोशी विद्या मन्दिरका निर्दैशक राजेशकुमार दासलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका तुम्बाहाङले सम्मान गरेका थिए । प्याब्सनले अधिवेशनको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै तुम्बाहाङले निजी विद्यालयहरुले प्राविधिक शिक्षामा जोड दिनुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै प्रमुख तुम्बाहाङले रोजगारमूलक शिक्षामा ध्यान दिन निजी विद्यालयहरुलाई आग्रहसमेत गरे ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे, उपाध्यक्षद्वय डिके ढुंगाना र दिपिका थापा, महासचिव राजेन्द्र बानिया, सल्लाहकार टीकाराम पुरी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, विराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ । वर्तमान अध्यक्ष सुनिल पौडेल र उपाध्यक्ष अर्जुन बस्नेतले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
बस्नेत समूहबाट वरिष्ठ उपाध्यक्षमा शीतला सुब्बा, उपाध्यक्षद्वयमा भक्तराज सुब्बा र शुभाष राई, महिला उपाध्यक्षमा रीना थापा, सचिवमा प्रेमलालसिंह सुवालले उम्मेदवारी घोषणा गरेका छन् । सो समूहबाट सहसचिवमा बिष्णु डंगोल र सीएम रिजाल, कोषाध्यक्षमा जगतबहादुर बस्नेत, एवं सहकोषाध्यक्षमा देवी सिटौलाले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेकामध्ये सुवाल वर्तमान उपाध्यक्ष हुन् । त्यस्तै पौडेल समूहबाट उपाध्यक्षमा सुनिलकुमार श्रेष्ठ, सचिवमा पुष्पबिक्रम बस्नेत, कोषाध्यक्षमा अमिश रेग्मी, सहसचिवमा अमलेश ठाकुर, महिला सहसचिवमा मनकुमारी गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।
बस्नेत पक्षकी वरिष्ठ उपाध्यक्षमा शीतला सुब्बा र उपाध्यक्षमा रीना थापाविरुद पौडेल पक्षले अहिलेसम्म उम्मेद्वारी दिएका छैनन् भने पौडेल पक्षकी महिला सहसचिवमा मनकुमारी गुरुङले मात्र उम्मेद्वारी दिएका छन् । मोरङ प्याब्सनमा २ सय ३० जना सदस्य छन् । विराटनगर महानगरपालिकाभित्रबाट मात्र ६९ मतदाता छन् ।