खबर पूर्वाञ्चल
प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जसमध्ये १२ जना प्रदेश १ बाहिरको रहेका छनु भने प्रदेश १ का ४४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
ताप्लेजुङ पाथिभरा याङवर गाउँपालिका १ की ३७ वर्षीय महिलाको आज विहान १० बजेर ४५ मिनेटमा विराटनगरको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भएको हो । मृतक महिलामा कलेजो सम्बन्धि गम्भिर समस्या थियो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक महिला भदौ २० गते विराट मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।
उता सुनसरीको धरानस्थित बीपी प्रतिष्ठनमा दुई जना कारोना संक्रमितको मृत्यु भएको छ । बीपीमा आइतबार राती उपचारको क्रममा झापा मेचीनगरपालिका ८ का ७२ वर्षिय महिला र सुनसरीको इनरुवा नगरपालिका ४ का ४९ वर्षिय पुरूषको आज बिहान मृत्यु भएको हो ।
मेचीनगरकी महिलाको श्वासप्रश्वासमा समस्या र निमोनिया भएपछि झापाको कन्काई अस्पतालले बीपीमा रिफर गरेको थियो । उनलाई आइतबार कोरोना सक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।
इनरुवाको संक्रमितको बीपीमा भदौ ३० गतेदेखि भर्ना भई उपचार भइरहेको थियो । असोज १ गते संक्रमण देखिएको उनलाई उच्चा रक्त चाप, मधुमेह, र मृगौलाको समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।