१०० पर्यटकिय गन्तब्य स्थलमा नअटाएको बर्जुताल

खबर पूर्वाञ्चल, २३ कार्तिक २०७५, शुक्रबार १०:१७

विराटनगर / संघिय सरकारले केही दिन अगाडि सार्वजनिक गरेको १०० पर्यटकिय गन्तब्य स्थलको सूचिमा प्रदेश १ को ठूलो जलासय युक्त बर्जु ताल अटाएन ।

प्रदेश १ को अस्थायी राजधानी विराटनगरदेखि करिब ११ किलोमिटर पश्चिम सुनसरीमा पर्छ बर्जुताल । पर्यटकिय सम्भावना बोकेको ताल १ सय ५० विगाहा क्षेत्रफलमा फैलिएको छ । तालले ओगटेको क्षेत्र मध्ये करिब १ सय विगाहा जलसाय छ ।

प्रदेश १ का १६ पर्यटकिय क्षेत्र नयाँ गन्तब्य स्थलको सूचिमा अटाएका छन् । तर सूचिमा नअटाएको सुनसरीको बर्जु गाउँपालिका–६ मा पर्ने ताल प्रदेश १ कै ठूलो जलासययुक्त ताल हो । प्रचारप्रसार नहुदा प्रचुर सम्भावना बोकेको ताल ओझेलमा परेको छ । ओझेलमा रहेको ताललाई २०७३ सालमा नेपाली सेनाले सरसफाई गरी स्थानीयलाई हस्तान्त्रण गरेको थियो ।

तीन करोड ६३ लाख बजेटमा सेनाले ताललाई व्यवस्थीत बनाएपछि स्थानीय बालिम चौधरीको अध्यक्षतामा संरक्षण समितिले रेखदेख गर्दै आएको छ । प्राचिन हिन्दू धार्मिक ग्रन्थ महाभारतसँग पनि बर्जुतालाई जोडेर हेर्ने गरिन्छ । प्राचिन विराट राजाको दरबार, गौशाला, गाई चरन क्षेत्रसँगै वनवास गएका पाण्डवहरुले तालको पानी पिएको किमदन्ती छ ।

तालको बिच भागमा मन्दीर निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटककालागि नौका विहारकालागि बोट राखिएको छ भने चिल्ड्रेन पार्क निर्माणको चरणमा छ ।

बर्जु सिमसार क्षेत्र पनि हो । वाह्रै महिना जमिनमुनिबाट पानी उम्रिन्छ । सिमसारमा जलचर, थरचर प्राणीको वासस्थान पनि छ । हिउँदमा जाडो छल्न साइबेरियादेखि कोशी टप्पु आउने चरा बर्जु ताल पनि आउँछन् ।

बातावरण बिज्ञ रामचन्द्र अधिकारी जाडो छल्न साइबेरीयादेखि आउने चराहरु कोशी टप्पु हुदै बर्जु तालसम्म पुग्ने गरेको अध्ययनबाट देखिएको बताउँछन् । उनी जलचर र अन्य प्रजातिका चराहरुको बासस्थान पनि भएको बताउँछन् । ताल क्षेत्रमा विभिन्न प्रजातिका पुतलीहरु पनि पाइन्छ ।

प्रदेश १ का पर्यटकिय गन्तब्य

संघिय सरकारले पुराना र नयाँ गरी प्रदेश १ मा स्थापीत भएका १३ र नयाँ १६ गरी २९ वटा गन्तव्यको सूची सार्वजनिक गरेको थियो । जस मध्ये ताप्लेजुङस्थित पाथीभरा मन्दिर र फुङफुङे झरना, इलामको सन्दकपुर–माइपोखरी, संखुवासभाको अरूण उपत्यका, धनकुटाको भेडेटार नमस्ते झरना, खोटाङको हलेसी महादेव, सोलुखुम्बुको स्याङबोचे र सगरमाथालाई स्थापित गन्तव्यका रूपमा उल्लेख गरिएको छ । स्थापित गन्तब्यको सूचिमा ओखलढुंगाको पोकली झरना, झापाको बाँसबारी सीमसार पर्यटन पूर्वाधार केन्द्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष, वराहक्षेत्र र तालतलैया छन् ।

विकास गर्नुपर्ने नयाँ गन्तव्यमा ताप्लेजुङको तिङबुङ पोखरी, पाँचथरको गुरू फाल्गुनन्द सर्किट (लोब्रेकुटी–गजुरमुखी धाम–लारूम्बा– चुक्कीनाम्बा), इलामको फिक्कल–कन्याम–श्रीअन्तु सर्किट, तेह्रथुमको तीजुरे–मिल्के–जलजले, संखुवासभाको बालेश्वर ऐतिहासिक गुफा, धनकुटाको हलदे पटकेडाँडा पर्यटक ट्रेल, भोजपुरको ट्याम्के डाँडा (मुन्धुम ट्रेल), खोटाङको बराहपोखरीलाई राखिएको छ ।

सोलुखुम्बुको पाँचपोखरी, ओखलढुंगाको थोलेदुम्बा डाँडा, उदयपुरको उदयपुरगढी, झापाको विर्तामोडस्थित सहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, मोरङको धनपालगढी पर्यटकीय क्षेत्र र सुनसरीको पिण्डेश्वर–दन्तकाली पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्य तोकिएको हो ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५