पूर्वाञ्चल खबर
सुनबर्षी नगरपालिकाका मेयर कालिप्रसाद दास, उपमेयर मञ्जु राईसहित ८ जना वडाध्यक्ष र कर्मचारीको जम्बो टोली कृषि अध्ययन अवलोकन भ्रमणको नाममा भारतको सिक्किम गएका हुन् । जनप्रतिनिधिहरु सुविधाभोगी बन्दै गएको गुनासो आइरहेको बेला जनताको पैसाबाट जम्बोटोली अध्ययन भ्रमणको नाममा भारत पुगेको हो ।
गत बुधवार कृषि अध्ययन अवलोकन भ्रमणका लागि सुनसरी, मोरङ, झापा र इलाम जाने सूची बनाएको जम्बो भ्रमण टोली घुम्दै–घुम्दै सिक्किमका राजधानीे ग्यान्टोक पुगेर फेसबुकमा फोटो सार्वजनिक गरेपछि कृषि अवोलकन भ्रमणको नाममा विदेश पुगेको रहस्य खुलेको हो । शुक्रबारसम्म भ्रमण टोली भारतमै थियो । भ्रमण टोलीमा मेयर कालीप्रसाद दास र उनकी श्रीमती, उपमेयर मञ्जु राई, प्रशासकीय अधिकृत राजकुमार केसी, ८ वडाका वडा अध्यक्ष कर्मचारी, नगरपालिकाका फाँट प्रमुखहरु र केही कृषक गरी २२–२३ जनाको टोली भारत पुगेको बताइएको छ ।
कृषिका लागि बिनियोजन भएको ७ लाख बजेटबाट अध्ययन अवलोकन भन्दै भारत पुगेको स्रोतले जानकारी दिएको छ । तर सुनबर्षी नगरपालिकाका कार्यबाहक अध्यक्ष प्रताप तामाङ पाँच लाख बजेट विनियोजन भएको आफूले जानकारी पाएको बताउँछन् । अवलोकन भ्रमणमा नजाने उनी एक्ला वडाध्यक्ष हुन् । नगरपालिकाका सबै शाखाका प्रमुखहरु भ्रमण गएपछि नायव सुब्बा नगेन्द्र पराजुलीलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
भ्रमण नगएका वडा नम्बर २ का अध्यक्ष तामाङलाई कार्यबाहक अध्यक्ष पद दिइएको छ । भ्रमण टोली सिक्किम गएको भन्ने जानकारी नभएको तामाङ बताउँछन् । ‘उहाँहरु झापा मोरङ, सुनसरी र इलाम अध्ययन अवलोकनका लागि भनेर जानु भएको हो ।’ उनले भने ‘ नगरपालिकाबाट पाँच दिनका लागि भनेर जानु भएको छ ।’ निमित्त अधिकृतको जिम्मेवारी पाएका पराजुली भारत गएको भन्ने बिषयमा आफूलाई पनि जानकारी नभएको बताउँछन् ।
‘अध्ययन अवलोकन भ्रमणको नाममा बजेट दुरुपयोग भएको छ ।’ स्थानीय एक जनप्रतिनिध भन्छन् ‘ जुन शीर्षकको बजेट हो । त्यही शीर्षकमा खर्च गर्नुपर्छ ।’ कृषि फाँटमा कृषकलाई बीउ र अन्य सहुलियताका लागि सात लाख बजेट छुट्याइएको थियो । सोही बजेटबाट कर्मचारी र जनप्रतिनिधि विदेश भ्रमणमा गएका हुन् ।