खबर पूर्वाञ्चल
दुई दशक राष्ट्रिय टिमबाट खेलेका खड्काले आज बिहान ट्विटरमार्फत सन्यासको घोषणा गरेका हन् । उनले सन्यास लिएको जानकारी दिँदै नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन् । लामो समय नेपाली टोलीको कप्तानी गरेका खड्काले दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका थिए ।
‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’
सन २००२ मा आफू १५ वर्षको हुँदा क्रिकेट यात्रा सुरु गरेको स्मरण गर्दै खड्काले आफ्ना खेलाडी साथी, प्रशंसक, परिवारसहित सम्पूर्णमा कृतज्ञता व्यक्त गरेका छन् ।
नेपालका सफल कप्तान तथा अलराउन्डर खड्काले नेपाललाई २००४, २००६ र २००८ गरी तीनवटा अण्डर १९ विश्वकपमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनी सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । सन २००७ को अण्डर–१९ एसीसी ट्रफीमा उनी म्यान अफ द टुर्नामेन्ट घोषित भएका थिए । उनको प्रेरणामा नेपाल अण्डर १९ विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।
नेपालका लागि उनले १० वटा एकदिवसीय खेलमा एक शतक र अर्धशतकसहित ३१५ रन बनाएका छन् । त्यस्तै ३३ टी–२० खेलमा एक शतक र ४ अर्ध शतकसहित उनले ७९९ रन बनाएका छन् । एक दिवसीयमा उनले ९ विकेट तथा टी–२० मा ८ विकेट लिन सफल भएका छन् ।
तपाईको प्रतिक्रिया