पूर्वाञ्चल खबर
सिएजी स्वस्थ्य क्लबले विराटनगरमा आयोजना गरेको नेपालकै सर्वाधिक राशिको भेट्रान फुटबल प्रतियागितामा विर्तामोडले छिमेकी काँकडभिट्टा भेट्रान क्लबलाई २–० गोलमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
विराटनगरको सहिद रंगशालामा भएको खेलमा विर्तामोडले सुरुवाती समयमा काँकडभिट्टालाई दबाबमा राख्दै खेले पनि गोलको कुनै अवसर बनाउन सकेन । मध्यान्तरपछि दुवै टिम थप आक्रमक बन्दै खेलेको थियो । खेल आक्रमक बनेर खेले पनि पोष्ट प्रहार भने न्यून भएको थियो ।
खेलको ७ औं मिनेटमा काँकडभिट्टाका लक्पा लामाले गरेको प्रहारलाई गोलरक्षकले उत्कृष्ट पन्च गर्दै विफल पारे । २२ औं मिनेटमा विर्तामोडका नरेन्द्रमणि लिम्बूले गरेको क्रसपासमा सुभाष आङथुपाले गरेको प्रहार पोलमाथिबाट बाहिरिएको थियो । ४८ औं मिनेटमा विर्तामोड सुभाष आङथुपाले गोल गर्दै टिमलाई अग्रता दिलाए । गणेशकुमार सुब्बाले सेन्टरबाट ट्याकल गर्दै कर्नर लाइनबाट गरेको क्रसपासमा आङथुपाले गोल गरे । ५५ औं मिनेटमा काँकडभिट्टा हर्क गुरुङले सानो बक्सभित्र दिएको पासमा दिलकुमार कार्कीको प्रहार सिधा गोलरक्षकको हातमा पुगेको थियो । ६० औं मिनेटमा काँकडभिट्टाका दिलकुमारको क्रसपासमा रमेश बस्नेतले हेडिङ गर्न चुके । ६७ औं मिनेटमा विर्तामोडका नरेन्द्रमणि लिम्बूले गोल गरे । उनले २५ यार्डबाट गरेको प्रहारले सिधा जाली चुमेको थियो ।
खेलको म्यान अफ द म्याच विर्तामोडका नरेन्द्रमणि लिम्बू घोषित भए । प्रतियोगिताको फाइनल खेल असोज २७ गते शनिबार विर्तामोड र धरान भेट्रान क्लबबीच हुनेछ ।