औषधि पसलको अनुगमनलाई तीव्रता

खबर पूर्वाञ्चल, ११ जेष्ठ २०७७, आईतवार २०:००

विराटनगर / औषधि व्यवस्था विभाग विराटनगरले औषधि पसलको अनुगमनलाई तीव्र पारेको छ । कोरोनाको कहरको समयमा फार्मेसी सञ्चालकले ठूलै बद्मासी गर्ने गरेको पाइएपछि अनुगमन शुरु गरिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

विराटनगर अस्पताल एवं विराट नर्सिङ होमभित्र सञ्चालनमा रहेको मेडी प्लस फार्मेसीले म्याद सकिएको औषधि बिक्री गर्दै बिरामीको स्वास्थ्यमाथि खेलवाड गरिरहेको पाइएको छ । अनिल चौधरीले सञ्चालन गरेको यो फार्मेसीबाट जेसिक्स–४ सय ब्राण्डको सेसिकजीम नामक औषधि म्याद सकिए पनि बेच्ने काम भइरहेको पाइएको हो । विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले शरीरमा भएको संक्रमण रोक्न प्रयोग गरिने यो औषधि प्रयोगको अन्तिम मिति गत जेठ ५ गतेसम्मको मात्रै रहेको जानकारी दिए । विभागले कारबाही अघि बढाउन फार्मेसीबाट सबै कागजपत्र जफत गर्दै सञ्चालक अनिल चौधरीलाई पाँच दिनभित्रमा उपस्थित हुन निर्देशन दिएको छ ।

फार्मेसीका कर्मचारी नारायण दाहालले औषधि बेच्ने क्रममा केही कमजोरी भने स्वीकार गरे । सप्तरीका कृष्णकुमार यादवले सञ्चालन गरेको महेश मेडिकल हल र सिरहाका रवीन्द्र महतोले सञ्चालन गरेको पश्चिमवासी फार्मेसीमाथि छानबिन भइरहेको विभागका विराटनगर प्रमुख कट्टेलले बताए । महेश मेडिकलमा अनुमति प्राप्त व्यवसायी÷फार्मेसिस्ट देवनारायण यादव र पश्चिमवासीमा राजेन्द्रप्रसाद मण्डल बसेर औषधि बेच्नु पर्नेमा अरु नै व्यक्तिले औषधि बिक्री गरिरहेको फेला परेको विभागले जनाएको छ ।

मान्यता प्राप्त विज्ञ नरहेको र औषधि बिक्रीमा अरुनै व्यक्ति प्रयोग गर्ने दुवै फार्मेसीको औषधि दर्ता प्रमाणपत्र (लाइसेन्स) नियन्त्रणमा लिएर तत्काललाई औषधि बिक्री बन्द गर्न निर्देशन दिइएको प्रमुख कट्टेलले बताए । उनकाअनुसार विभागको टोलीले दुईवटा फार्मेसीको लाइसेन्स नियन्त्रणमा लिइरहँदा यी दुईवटाको बीचमा रहेको गोलबजार फार्मेसीका सञ्चालक भने सटर लगाएर पसल बन्द गर्दै फरार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५