RUMPUM
animated ellipse animated ellipse

प्रेम सम्बन्ध थाहा पाएपछि श्रीमती र प्रेमी मिलेर मोरङमा पुरुषको हत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ कार्तिक २०८३, सोमबार ०९:४६
3
Shares
विराटनगर /विवाहेत्तर प्रेम सम्बन्ध लुकाउन खोज्दा मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आफ्नै श्रीमती र उनका भारतीय प्रेमी मिलेर फलामको रड प्रहार गरी पतिको हत्या गरेको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।

मृत्यु हुनेमा जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन् । आइतबार राति करिब ९ बजेतिर टाउकोमा फलामको रड प्रहार गरी उनको हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार सोरेनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार राज्यअन्तर्गत कटिहार जिल्लाका २७ वर्षीय सुनील मिश्रले बुधराममाथि रड प्रहार गरेका थिए । रड प्रहारबाट गम्भीर घाइते भएका सोरेनको घटनास्थलमै मृत्यु भएको जानकारी एसपी कटवालले दिए ।

उनका अनुसार कमली र भारतीय नागरिक सुनीलबीच प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमतीको भारतीय नागरिकसँग प्रेम सम्बन्ध रहेको कुरा बुधरामले थाहा पाएपछि दुवै मिलेर योजना बनाई उनको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रेम सम्बन्धबारे पतिले थाहा पाएपछि उत्पन्न परिस्थितिले हत्याको रूप लिएको कटवालको भनाइ छ । विवाहेत्तर सम्बन्धकै कारण योजनाबद्ध रूपमा हत्या गरिएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी मझारेबाट खटिएको टोलीले सुनीललाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो । घटनापछि फरार भएकी कमलीलाई प्रहरीले सोमबार बिहान करिब साढे ७ बजेतिर घरबाट एक किलोमिटर पश्चिमतर्फ खेतमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले घटनामा प्रयोग भएको फलामको रडसमेत बरामद गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ । पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर