पूर्वाञ्चल खबर
स्थायी राजधानी विराटनगरबाट सार्न नहुने भन्नै विभिन्न ६३ वटा गैर सरकारी संस्थाहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । सोमवार सबै संघ संस्थालाई बोलाएर पत्रकार सम्मेलन गरेको विराटनगर महानगरपालिका मेयर पराजुलीले राजधानीकालागि त्याग गर्न तयार भएको बताएका हुन् ।
१०४ वर्षे इतिहास कोरेको विराटनगर स्थायी राजधानी हुनुपर्ने पर्याप्त आधारहरू रहेको महानगरपालिकाले दाबी गरेको छ । मेयर भीम पराजुलीले राजधानीका लागि आवश्यक पर्ने पर्याप्त जग्गा महानगरले उपलब्ध गराउने बताए । “ऐतिहासिक नगरी विराटनगरलाई राजधानी हुन नदिन विभिन्न प्रपञ्च रहिँदैछ,” मेयर पराजुलीले भने, “यो सहर राजनीतिक, आर्थिक, सामाजिकलगायत धेरै प्रकारका रचनात्मक क्रान्तिको योद्धा पनि हो ।”
महानगरभित्र पर्याप्त मात्रामा खाली जमिन रहेको, भौतिक संरचना पर्याप्त निर्माण भइसकेको उनको भनाइ छ । पूर्वाञ्चल विश्वविद्यालय, नोवेल र विराट गरी दुई वटा मेडिकल कलेज, वीरेन्द्र सभागृह, सहिद रंगशाला, बैजनाथपुर रंगशाला, आधुनिक बसपार्क, सुविधासम्पन्न होटल, सपिङ कम्प्लेक्स, आवासका लागि हाउजिङ, विमानस्थल, शिक्षा र स्वास्थ्यको हब बन्दै गएकोले राजधानी बनाउन पर्याप्त आधार रहेको मेयर पराजुलीको दाबी छ । “अन्य ठाउँमा राजधानी सार्दा अरबौ रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ भौतिक संरचना निर्माणका लागि,” मेयर पराजुलीले भने, “विराटनगरमा राजधानी बनाउँदा मुख्यमन्त्रीसहित सबै मन्त्रीहरूका लागि भवन तयारी अवस्थामै छन् ।
अस्थायी राजधानी भइसकेपछि भौतिक संरचनाको विकासमा ठूलो रकम लगानी भइसकेको छ । “सबैभन्दा महत्वपूर्ण कुरा त जातीय, धार्मिक रुपमा पनि यो सहर सबैको साझा फूलबारी बनेको छ,” पराजुलीले थपे, “सामाजिक एकता, सद्भावको प्रतीकका रुपमा यो सहर उभिएको छ ।
लफलमा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष प्रकाश मून्दडा, उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, उद्योगी महेश जाजुलगायतले विराटनगरलाई स्थायी राजधानी बनाउन माग गरे । निजी क्षेत्रको योगदानलाई मनन् गर्दै राजधानी तोक्नुपर्नेमा उनीहरूको जोड छ ।