खबर पूर्वाञ्चल
भारततर्फ तस्करी हुन लागेको ४ सय २२ केजी गाँजा मोरङ प्रहरीले जहदा गाउँपालिका वडा २ बेरियारी टोलबाट बरामद गरेको छ । जहदा २ का मो.मजेबुल मियाँको खेतमा लगाएको मकै बारीमा गाँजा लुकाई छिपाई राखेको विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्यूरो रानी बिराटनगरबाट खटिएको टोलीले १४ बोरामा ४ सय २२ केजी गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
प्रहरीले गाँजा बरामद गरे पनि तस्करीमा संलग्नलाई पक्राउ गरेको छैन । गाँजा धनीको खोजी कार्य जारी रहेको मोरङ प्रहरीले जनाएको छ । तस्करी गरेर भारत पु¥याउनकै लागि धनकुटाबाट झिकाएर गाँजा मोरङको दक्षिणी नाका प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । सीमावर्ती क्षेत्र नजिक भण्डारण गरिने गाँजा सुरक्षाकर्मीलाई छल्नासाथ सीमा नाका हुँदै भारत कटाउने गरिएको हो ।
यसैगरी सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको स्कारपियोबाट गाँजा बरामद गरेको छ । आज विहान २ बजे सशस्त्र प्रहरी बल मोरङले विराटनगर १ नोबेल डेरीबाट १ सय २० केजी गाँजा बरामद गरेको हो ।
सूचनाको आधारमा सशस्त्र प्रहरीले बुढीगंगा गाँउपालिका १ स्थित टंकीसिनुवारी चोकमा सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्र काजी निरौलाको कमाण्डमा खटिएको ९ जनाको मोबाईल चेक प्वाईन्ट टोलीले चेकजाँच गरेको थियो । ईटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बिआर ११ भी ७६४५ नम्बरको सेतो कालो रंगको स्कारपियो गाडीलाई चेकजाँच गर्न खोज्दा स्कारपियो नरोकी विराटनगरर्फत हुकिएको थियो । सशस्त्र प्रहरी निरीक्षक निरौलाको टोलीले स्कारपियोलाई पीछा गर्दै जाँदा विराटनगर १ स्थित नोबेल डेरी चोकमा स्कारपियो छाडी चालक फरार भएका थिए । चेकजाँचको क्रममा स्कारपियोबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका निमित्त कार्यालय प्रमुख डिएसपी होमनाथ भट्टराईले बताए । बरामद गरेको गाँजा आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा बुझाएको छ ।
तपाईको प्रतिक्रिया