AArya
RUMPUM
animated ellipse animated ellipse

अविरल वर्षाका कारण विराटनगर महानगरपालिकाले गर्यो दुई दिन विद्यालय बिदा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ आश्विन २०८३, बिहीबार ०९:०६
3
Shares
विराटनगर /अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ ।

विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाले आज र भोलि विद्यालय बन्द गर्ने जानकारी दिएको हो ।

महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित सूचना अनुसार जल तथा मौसम विज्ञान विभागले असोज ८ गतेदेखि ११ गतेसम्म देशैभरि भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। अत्यधिक वर्षाका कारण स्थानीय खोलानाला तथा नदीहरूमा पानीको बहाव बढ्ने, सडक तथा बस्तीहरू डुबानमा पर्न सक्ने, बाटोघाटो अवरुद्ध हुने तथा अन्य विपद्जन्य जोखिम सिर्जना हुनसक्ने अवस्थालाई ध्यानमा राखी विद्यार्थी र आम नागरिकको सुरक्षार्थ विद्यालय बन्द गर्ने निर्णय लिइएको जनाइएको छ।

साथै, विपद्को अवस्था आएमा सुरक्षित विद्यालय भवनहरूलाई आवश्यकताका आधारमा प्रभावित नागरिकका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न पनि महानगरले सबै विद्यालयहरूलाई आग्रह गरेको छ। त्यसका लागि स्थानीय प्रशासनसँग निरन्तर सम्पर्क र समन्वयमा रहनसमेत सूचित गरिएको छ।

सतर्कता अपनाउन महानगरको अपिल

मौसमविद्हरूका अनुसार बङ्गालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण आगामी केही दिन कोशी प्रदेशसहित देशभर मनसुनी वर्षा सक्रिय रहने देखिन्छ। विराटनगरलगायत तराईका भूभागहरूमा डुबान र कटानको उच्च जोखिम रहने भएकाले नदी तथा खोला किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।

स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न र विपद् आइपरेमा नजिकैको सुरक्षा निकाय वा महानगरको आपत्कालीन सेवामा सम्पर्क गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर