खबर पूर्वाञ्चल
आज सामाजिक सञ्जालमार्फत अधयक्ष लिङ्देनले सत्ता पक्षले विश्वासको मतका लागि मन्त्री पद र १० करोड अफर गरिरहेको खुलासा गरेका हुन् ।
कोशीमा राप्रपाका ६ जना सांसद रहेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ चार गते विश्वासको मत लिँदै छन् ।
‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौं सम्मै आइपुग्यो त ।’
लिङ्देनले प्रस्ताव आएको कुरा स्वीकार गर्दै भने, ‘हाम्रो एक जना प्रदेश सदस्यको घरमा गएर उनीहरुले मन्त्री र १० करोड दिन्छौ भनेर प्रस्ताव गरेछन । ती सांसदले मलाई भर्खरै फोन सम्पर्कमार्फत जानकारी गराएका छन् ।’
प्रदेशमा जस्तोसुकै प्रस्ताव आएपछि राप्रपाले अहिलेको सरकारलाई कुनै पनि हालतमा समर्थन नगर्ने उनले बताए । उनले भने, ‘हामीले किन विश्वासको मत दिने ? अहिले हामीलाई जे प्रस्ताव आएपनि राप्रपा सहभागी हुदैन । बरु एमाले र कांग्रेस मिलेर सरकार बनाउन ।’
राप्रपाका एक सांसदले त्यस्तो खालको प्रस्ताव आफ्ना सांसदलाई आएको बताए । नाम उल्लेख नगर्ने शर्तमा ती सांसदले भने, ‘एक जना माननीयलाई घरमै गएर प्रस्ताव गरेको भन्ने सूचना आएको छ । नाम चाहिँ उल्लेख नगरीदिनुहोला ।’
नेपाली कांग्रेससहित नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत लिन चुनौती छ । किनकी गठबन्धनले माओवादीका बाबुराम गौतमलाई सभामुखबाट राजीनामा गर्न लगाएर बहुमत पुर्याएको हो ।
सभामुखबिहीन रहेको कोशीमा अहिले एमालेकी सिर्जना दनुवार उपसभामुख छिन् । सभामुखले राजीनामा गरेका कारण अब अर्काे सभामुख चयन नहुञ्जेलसम्म उपसभामुखले सभा सञ्चलान गर्नुपर्छ । एमालेले उपसभामुखलाई राजीनामा गराउन सक्ने सम्भावना पनि उत्तिकै छ ।
यस्तो अवस्थामा प्रदेशसभामा रहेको सदस्यहरुमध्ये जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नुपर्ने हुन्छ । गठबन्धनले चलाखी गरेर जेष्ठ सदस्य रहेका कांग्रेसका गयानन्द मण्डललाई राज्यमन्त्री बनाइसकेको छ ।
गठबन्धनको चलाखी चिर्न एमालेले पनि आफ्ना जेष्ठ सदस्यलाई विश्वासको मत लिने दिन अनुपस्थित गराउन सक्छ । प्रदेशमा एमाले र राप्रपा एकातिर छन् ।
विश्वासको मत लिने समय छोटो रहेका आफूसँग पर्याप्त बहुमत नभएको अवस्था गठबन्धनले राप्रपालाई फकाउन अनेक प्रयास गरिरहेको छ । यहाँसम्म गठबन्धनले राप्रपा सांसदको घरमै पुगेर पद र पैसाको अफर गरेको खुलासा भएको छ ।