AArya
RUMPUM
animated ellipse animated ellipse

भारतको बथनाहादेखि कटहरीसम्म आउने रेलको परीक्षण एक महिना भित्र हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० आश्विन २०७५, शनिबार ०७:००
3
Shares
विराटनगर / भारतको बथनाहा हुदै मोरङको कटहरीसम्म आउने रेलमार्गमा एक महिना भित्र परीक्षणकालागि रेलको इन्जिन कुदाइने भएको छ । भारत बथनाहदेखि विराटनगर–१८ बुधनगरमा निर्माण गरिएको स्टेशन सम्म एक महिना भित्र परीक्षणकालागि रेलको इन्जिन कुदाइने भएको हो । यो समाचार आजको उदघोष दैनिकमा हरि अधिकारीले लेखेका छन् ।

६ बर्ष अघि कटहरीदेखि बथनाह सम्म १८ दशमलव १ किलोमिटर क्षेत्रमा रेलमार्ग निर्माणको ठेक्का लिएको भारतीय इरकोण इन्टरनेशनलले ८ किलोमिटर क्षेत्रमा रेलको लिक बिच्छयाएको छ । अझै १० किलोमिटर क्षेत्रमा लिक बिच्छयाउन बाकी छ । अक्टोबर महिना भित्र लिक बिच्छयाइएको स्थानसम्म रेलको इन्जिन ट्रायल रन गर्न लागिएको इरकोणका जुनियर जनरल म्यानेजर प्रदीप कुमारले बताए । उनका अनुसार भारततर्फ ५ र नेपाल तर्फ ३ किलोमिटर क्षेत्रमा रेल्वेको लिक बिच्छयाइएको छ । ट्रयाक बिच्छयाइएको स्थानमा सिग्नल लाइटको जडान गर्ने काम भैरहेको छ ।

निर्माणधिन रेल्वे ट्रयाकको रेल विभाग नेपालका महानिर्देशक बलराम मिश्रसहितको टोलीले अनुगमन गरेको छ । शुक्रवार अनुगमनकालागि आएको टोलीले नेपालतर्फ निर्माणधिन रेल्वे लाइनका बारेमा जानकारी लिएको थियो ।

विराटनगर हुँदै कटहरीसम्म रेलमार्गको निर्माण जग्गा मुआब्जा विवादका कारण अल्झिएको थियो । सरकारले अधि ग्रहण गरेको १ सय १९ विघा जग्गाको मुआब्जा विवादका कारण कटहरी खण्डको हुलाकी राजमार्ग उत्तरतर्फ काम हुन सकेको छैन् ।

बथनाहादेखि कटहरीसम्म १८ दशमलव १ किलोमिटर रेलमार्ग निर्माणका लागि ५ सय ६५ जग्गा धनीबाट १ सय १९ विघा जग्गा अधिकरण गरिएको थियो । तर ती मध्ये केही जग्गा धनीले मुआब्जा लिएका छैनन् ।

जग्गाधनीहरुमध्ये स्थानीय शेषनारायण माझी र घुरन माझीले मुआब्जा कम भएको भन्दै रेल विभाग र जिल्ला प्रशासन कार्यालय मोरङ बिरुद्धमा मुद्दा दायर गरेका थिए । अधिग्रहण गरिएको जग्गाको प्रति कठ्ठा न्यूनतम ९० हजारदेखि २५ लाखसम्म मूल्याङ्कन गरेर ५३ करोड मुआब्जा बितरण गरिएको थियो ।

दुई बर्ष भित्र काम सक्ने लक्ष्य सहित सुरुमा २ अर्ब ३८ करोड भारतीय रुपैयामा निर्माणकालागि ठेक्का दिइएको थियो । तर लामो समय जग्गा विवादका कारण काम सुरु नभएको रेल्वे परियोजनाको बजेट ३ अर्ब ७३ करोड भारतीय रुपैया पुगेको छ । कुल बजेट मध्ये हालसम्म २ अर्ब ३५ करोड रुपैया बरावरको काम सम्पन्न भएको प्रदिप कुमारले जानकारी दिए । ८ किलोमिटरसम्म ९५ प्रतिशत काम सकिएको बताउदै उनले बाकी ८ किलोमिटर क्षेत्रमा ८० प्रतिशत काम पुरा भएको बताए ।

भारतको बथनाहादेखि मोरङको कटहरीसम्म कुल १८ दशमलव १ किलोमिटरमध्ये नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३ दशमलव १ किलोमिटर रेल मार्ग पर्छ । अधिग्रहण गरिएको १ सय १९ बिघा जग्गामध्ये विराटनगर १८ स्थित बुधनगरमा रेलवे स्टेसन र अन्य पूर्वाधार बनाउन ४२ बिघा जग्गा छुट्याइएको छ । निर्माण भइरहेको रेलवे स्टेशनमा यात्रु प्रतिक्षालय, कार्यालय भवन, कर्मचारी क्वाटरलगायत संरचना निर्माण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर