पूर्वाञ्चल खबर
पूर्वाञ्चल विश्वविद्यालयको चारवटा कार्यालयमा डेढ महिनायता तालाबन्दी छ । उपकुलपतिको कार्यालय र पूवि सेवा आयोगको कार्यालयमा अखिल क्रान्तिकारी सहितका विद्यार्थीसंगठनहरुको तालाबन्दी छ भने रजिष्टारको कार्यालय र लेखासाखामा नेपाल विद्यार्थी संघको तालाबन्दी छ ।यता त्रिभुवन विश्विद्यालय अन्तरगतको स्नाकोत्तर क्याम्पस र महेन्द्र मोरङ क्याम्पस प्रमुखको कार्यकक्षमा पनि तालाबन्दी छ । महेन्द्र मोरङमा राष्ट्रीय विद्यार्थी संघले तालाबन्दी गरेको छ भने स्नाकोत्तर क्याम्पसमा प्राध्यापकहरुले नै तालाबन्दी गरेका छन् ।
स्नाकोत्तर क्याम्पसमा प्राध्यापक नियुक्तीको बिषयलाई लिएर गत भदौ २२ गतेदेखि प्राध्यापकहरुले नै तालाबन्दी गरेका हुन् । महेन्द्र मोरङ र पूर्वाञ्चल विश्विद्यालयमा तालाबन्दी गर्ने संगठनको आ–आफ्नै माग छन् । विद्यार्थीहरुले क्याम्पसको निर्णय विरुद्ध तालाबन्दी गरेर आन्दोलन गर्ने उदारण प्रसस्त छ । तर स्नाकोत्तर क्याम्पसमा भने बेला बेला प्राध्यापकहरु नै तालाबन्दी गरेर आन्दोलनमा उत्रिने गरेका छन् ।
कुनैबेला विद्यार्थीको चाप हुने स्नाकोत्तर क्याम्पसमा विद्यार्थीको संख्या न्यून छ । थोरै भएका विद्यार्थीले आन्दोलन गरेका छैनन् । तर प्राध्यापकहरु भने प्रमुख नियुक्तीको बिषयलाई लिएर आन्दोलनमा छन् ।
स्नाकोत्तर क्याम्पसमा पार्टीगत कोटाका आधारमा क्याम्पस प्रमुखको नियुक्ती हुदै आएको थियो । एक दशकको समयलाई हेर्दा स्नाकोत्तर क्याम्पस माओवादी केन्द्रको भागमा छ । माओवादी केन्द्र निकटका प्राध्यापक नियुक्त हुदा प्राध्यापकहरु आन्दोलनमा उत्रने गरेका छन् । जारी आन्दोलनपनि सोही कारणले भएको हो ।
त्रिवीले माओवादी कोटाबाट नियुक्त भएका मनोज राउतको चार बर्षे कार्यकाल सकिएपछि माओवादीबाटै सहप्राध्यापक महेश खत्रीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको थियो । खत्री महेन्द्र मोरङ क्याम्पसमा अध्यापन गराउछन् । तर कनिष्ठ र बेग्लै क्याम्पसको भएको बताउदै प्राध्यापकहरु नियुक्ती खारेजको माग सहित आन्दोलनमा छन् ।
चार बर्षे कार्यकाल सकिएका राउत पनि कनिष्ठ नै थिए । उनी नियुक्त हुदा पनि दुई महिना तालाबन्दी भएको थियो । बल्लब पौडेलले आन्दोलनकै कारण आफ्नो पूर्ण कार्यकाल क्याम्पस प्रमुखमा बसेनन् ।
प्राध्यापकले तालाबन्दी गरेपछि नया“ प्रमुखले क्याम्पसको कार्यक्षमा बस्न पाएका छैनन् । २६ गते नियुक्ती पाएका खत्री २७ गतेदेखि स्नाकोत्तर क्याम्पस धाइरहेका छन् । तर कार्यकक्षमा तालाबन्दी भएका बाहिरबाट नै कार्यालयको काम गर्दै आएको बताउछन् । प्राध्यापक संघलाई पत्र लेखेर बार्ताकालागि बोलाएपनि नआएको उनको गुनासो छ ।
स्नाकोत्तर क्याम्पसका प्राध्यापकहरु ज्येष्ठता र बरिष्ठताका आधारमा सहप्राध्यापक कृष्ण वस्तीलाई प्रमुखमा नियुक्ती गर्नुपर्छ भन्ने पक्षमा थिए । तर त्रिवीले महेन्द्र मोरङ क्याम्पसका सह प्राध्यापकलाई नियुक्ती गरेपछि ताला नखुलको त्रिबी प्राध्यापक संघ स्नाकोत्तर क्याम्पस विराटनगर इकाई सभापति चक्रपाणि खनालले जानकारी दिए ।
ज्येष्ठता र बरिष्ठताका आधारमा क्याम्पस प्रमुखको नियुक्ती नभए सम्म प्रमुखको कार्यकक्षमा लगाएको तालाबन्दी नखोल्ने उनले बताए । संघको साधारण सभाले नै क्याम्पस भित्रबाट प्रमुख नियुक्ती नगरे सम्म तालाबन्दी नखोल्ने निर्णय गरेको उनले बताए । प्रगतिशिल प्राध्यापक संगठन स्नाकोत्तर क्याम्पस इकाई सभापति प्राडा सोमप्रसाद खतिवडा पनि तालाबन्दी प्रति नैतिक समर्थन रहेको बताउछन् ।