AArya
RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको बायोग्यास तीन सातामै विग्रियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ भाद्र २०७५, बुधबार ०८:५४
3
Shares
विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको विराटनगर–१४ जतुवास्थित बायोग्यास तीन साता नबित्दै बिग्रिएको छ । बायोग्यास बिग्रिएपछि घरमा थन्काएको सिलिण्डर फेरि काँधमा बोक्नुपर्ने स्थानीयलाई आपत आइपरेको खबर हरि अधिकारीले आजको उद्घोष दैनिकमा लेखेका छन् ।

भदौ ५ गते उक्त बायोग्यास उद्घाटन गर्दा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘कम्तीमा ३२ घरकाले अब सिलिण्डर फाले हुन्छ ।’ तर, प्रधानमन्त्रीले त्यसो भनेको तीन साता नबित्दै तिनै ३२ घरमध्येका एक शोभाकान्त यादवको परिवार फेरि सिलिण्डर बोकेर बजार निक्लिनुपरेको छ । जतुवास्थित श्रीकृष्ण गौसेवा सदनबाट उत्पादित गोबरग्यासको पाइप घरको भान्सामै पुगेपछि यादवले सिलिण्डर थन्काएका थिए ।

‘पाइपबाट ग्यास आएपछि सिलिण्डर थन्क्यायौं’ उनले भने ‘तर, पाइपलाइनको ग्यास बन्द भयो, २-४ दिन बाटो हेरेर दाउरामा खाना पकायौं, नआएपछि छोरोले सिलिण्डर भरेर ल्यायो ।’ उनीजस्तै ग्यासको सिलिण्डर थन्काएकी जतुवाकै सीता दाहालले पनि ग्यास भरेर ल्याएकी छन् । बायोग्यासमा १५ दिनजति खाना पकाएकी उनले भनिन् ‘भर नभएपछि थन्काएको सिलिण्डर फेरि भरेर ल्याउनु पर्यो ।’

शिक्षकसमेत रहेका जागेश्वर यादवले पनि सिलिण्डर ग्यासको प्रयोग गरेका थिएनन् । तर, प्लान्टबाट एक सातासम्म ग्यास नआएपछि सिलिण्डर फेरि भरेर ल्याउनुपरेको उनले बताए । जतुवास्थित श्रीकृष्ण गौसेवा सदनको गोबरग्यास प्लान्ट प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए । हतारमा उद्घाटन गरिएकोले प्लान्टमा प्राबिधिक समस्या आएको हो । अहिले भने ग्यास वितरण रोकेर थप काम भइरहेको छ ।

प्लान्टमा प्राबिधिक समस्या आएपछि केही दिनको मर्मतका लागि ग्यास उत्पादन रोकिएको गौसेवा समितिका अध्यक्ष शंकरलाल अग्रवालले जानकारी दिए । प्राबिधिक टोलीले काम गरिरहेको बताउँदै उनले केही दिनभित्र पहिले जडान गरिएका ३२ घरका लागि ग्यास वितरण सुरु गर्ने बताए । बाँकी ४८ घरमा असोजभित्र वितरण गर्ने उनको भनाई छ ।

विद्युतको अनियमित कटौती र भोल्टेज कम हुँदा ग्यास वितरणमा समस्या परेको बताइएको छ । परीक्षणकाल र उद्घाटनपछि पनि विद्युत भएका बेला मात्र उपभोक्ताको घरसम्म ग्यास पुग्ने गरेको थियो । जेनेरेटर नहुँदा समस्या भएको बताइएको छ ।

बिजुलीमा गडबडी भएपछि ग्यास वितरण गर्ने पाइपलाइनमा समस्या आएको हो । नियमित ग्यास आपूर्ति गर्न २४ घण्टा बिजुली आवश्यक पर्छ । तर, गौशालासँग जेनरेटर छैन । जिल्ला समन्वय समितिले विराटनगर महानगरपालिकामार्फत दिने भनेको जेनेरेटर अझै पुगेको छैन । ‘८० घरमा वितरणका लागि पाइपलाइन बिच्छ्याउने काम पनि भइरहेको छ’ गौशालाका रेखदेखकर्ता मोहिचन्द्र यादव भन्छन् ‘पूर्ण क्षमतामा सञ्चालन गर्दा कुनै समस्या नहोस् भनेर अहिले उत्पादन रोकेर गरेर मर्मतका लागि जुटेका छौं ।’

प्लान्टबाट ग्यास वितरणमा समस्या आएपछि भारतबाट प्राबिधिक बोलाइएको छ । सिड कन्सलटेन्ट एण्ड इन्जिनियरिङ प्राइभेट लिमिटेड दिल्लीबाट आएका इन्जिनियर सुमित कुमारसहितको टोलीले मर्मत गरिरहेको छ । सिडले नै गोबर ग्यास प्लान्टको प्राबिधिक पाटो हेर्दै आएको छ ।

विद्युतको भोल्टेज गडबड हुँदा समस्या भएर मेम्ब्रेममा असर गरेको थियो । मेम्ब्रेम ग्यास सप्लाई गर्ने मुख्य प्राबिधिक पक्ष हो । प्राबिधिक टोलीले मेम्ब्रेम मर्मतको काम गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर