२०५ औँ भानु जयन्तीको अवसरमा विभिन्न कार्यक्रम

खबर पूर्वाञ्चल, २९ असार २०७५, शुक्रबार १६:०१

विराटनगर / आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित भानु कला केन्द्र भानुभक्तको रथयात्रा निकालेको छ ।

सन्सारीमाईस्थानबाट निकालिएको रथयात्राले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । भानु कला केन्द्र र भानु मोरङ सांस्कृतिक समितिले हरेक वर्ष आदिकविको जन्मजयन्तीका अवसरमा रथयात्रा निकाल्ने गरेको छ । रथयात्रामा प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको समेत सहभागिता रहेको थियो ।

त्यसअघि आयोजित कार्यक्रममा मन्त्री घिमिरेले नेपाली भाषासाहित्यमा भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको चर्चा गरे । उनले भने, “जसरी पृथ्वीनारायण शाहले विभिन्न राज्य विभाजित नेपाललाई एउटै राज्यमा एकीकरण गरे त्यसैगरी विभिन्न भाषामा विभाजित नेपाललाई नेपाली भाषामार्फत भानुभक्तले भाषिक एकीकरण गरे ।” उनले भानुभक्तलाई नेपाली जनताले सयौं वर्षसम्म सम्झिरहने बताए । प्राज्ञ विवश पोखरेलले भानु जयन्तीको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताए । भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधरण र कालजयी रहेको भन्दै प्रशंसा समेत गरे । आज दार्जिेलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मिएका थिए । उनले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए । उनका ‘प्रश्नोत्तर , ‘भक्तमाला’ ‘वधूशिक्षा’ , ‘रामगीता’ तथा दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५