AArya
RUMPUM
animated ellipse animated ellipse

हृदय रोग केन्द्र अस्पतालको नाम परिवर्तनको तयारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३२ असार २०८२, बुधबार ०८:०२
495
Shares
विराटनगर/ विराटनगर–१४ स्थित शैलजा आचार्य हृदय रोग उपचार केन्द्रले अबदेखि मुटु उपचार मात्र होइन, स्त्रीरोग, बालरोग र सामान्य स्वास्थ्य सेवासमेत प्रदान गर्न थालेको छ ।

अस्पतालका ओपीडी (बाहिरी बिरामी विभाग) मा विभिन्न विशेषज्ञ सेवा सुरु भएसँगै यहाँ आउने सेवाग्राहीको संख्या पनि बढ्ने अपेक्षा गरिएको छ ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाका अनुसार केन्द्रलाई बहुपक्षीय सेवा दिने स्वास्थ्य संस्थाका रूपमा विस्तार गर्ने प्रदेश सरकारको नीति अनुसार अहिले जेनेरल सेवा सुरु गरिएको हो । ‘अहिले केन्द्रबाट स्त्री तथा प्रसूति सेवा, बालरोग सेवा र जनरल ओपीडी सेवा सञ्चालनमा छन्,’ उनले भनिन्, ‘चिकित्सकहरू पनि अस्पतालमै पुगेर सेवा दिइरहेका छन् ।’

यसअघि शुद्ध रुपमा मुटु रोगीको उपचार केन्द्रका रूपमा उद्घाटन गरिएको यो अस्पतालमा अब नियमित उपचारसहित स्त्रीरोग र बालरोग सम्बन्धी सेवा विस्तार गरिएको छ । डा. थपलियाका अनुसार आगामी आर्थिक वर्षका लागि अस्पतालको सेवा विस्तार तथा सञ्चालनका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

साउन १ गतेदेखि अस्पतालमा लेखा प्रमुखसहित प्रशासनिक संरचना निर्माण गरिएको छ । साथै, मेडिकल सुपरिटेन्डेन्ट (मेसु) समेत नियुक्त हुनेछन् । जनरल सेवाका लागि हाल छात्रवृत्तिमा रहेका चिकित्सकहरूले सेवा दिइरहेका छन् भने फिजिसियनको रूपमा ८औँ तहका स्थायी चिकित्सक खटिएका छन् ।

अहिलेका लागि ओपीडी सेवाहरू निःशुल्क प्रदान गरिँदै छन् । निकट भविष्यमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी भइरहेको सचिव थपलियाले जानकारी दिइन् । ‘स्वास्थ्य बीमा बोर्डसँग छलफल भइसकेको छ, चाँडै यो सेवा लागू गर्ने योजना छ,’ उनले भनिन् ।

ओपीडीमा परीक्षणपछि आवश्यक परेमा अस्पताल नजिकै रहेको प्रदेश स्वास्थ्य प्रयोगशालामा बिरामीको ल्याब परीक्षण गरिने व्यवस्था मिलाइएको छ । साउन १ गतेबाट लेखा प्रमुखसहित प्रशासन प्रमुख पनि अस्पतालमा कार्यरत भइसकेका छन् । सचिव थपलियाका अनुसार अस्पतालमा हाल ४२ जना कर्मचारीको दरबन्दी स्वीकृत छ, तर केही पदहरू अझै रिक्त छन् । लेखा विभागको अभाव भएकाले अन्य अस्पतालबाट लेखा प्रमुख ल्याएर व्यवस्थापन गरिएको हो ।

५० शैय्याको जनरल अस्पताल बनाउने योजना
प्रदेश सरकारले केन्द्रलाई क्रमशः ५० शैय्याको जनरल अस्पतालका रूपमा विस्तार गर्ने लक्ष्य लिएको छ । अहिलेको सेवामा बिरामीको चाप हेरेर प्राथमिकता तय गरिने सचिव थपलियाले बताइन् ।
‘अहिले जुन सेवा बढी मागमा छ, त्यसलाई प्राथमिकता दिएर विस्तार गरिन्छ,’ उनले भनिन्, ‘बिस्तारै आकस्मिक सेवा, भर्ना सेवा लगायत अन्य सेवा थपिँदै जानेछन् ।’

अस्पतालको नाम परिवर्तनको तयारी
प्रदेश सरकार शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको नाम परिवर्तन गरेर ‘शैलजा आचार्य हृदय रोग तथा जनरल अस्पताल’ राख्ने तयारीमा रहेको छ । त्यसको लागि आवश्यक प्रक्रिया सुरु भइसकेको र मन्त्रिपरिषद (क्याबिनेट) मा प्रस्ताव लैजाने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । ‘केही दिनभित्र नामकरण टुंगो लाग्नेछ,’ स्रोतले भन्यो ।

शैलजा आचार्य हृदय रोग केन्द्र माघ ८ गते तत्कालीन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको पहलमा उद्घाटन गरिएको थियो । प्रदेश सरकार गठन भएको १०० दिन पुरा भएको अवसरमा उनी आफैं उपस्थित भई विशेष समारोहबीच केन्द्रको उद्घाटन गरेका थिए । उनले ‘प्रदेशका नागरिकलाई सरकारले मुटु उपहार दिएको’ घोषणा गरेका थिए ।

मुख्यमन्त्री कार्कीले त्यस अवसरमा आफ्नो घरछेउमा रहेको मन्दिर निर्माणको बजेट कटौती गरेर यो अस्पताल बनाइएको बताएका थिए । ‘अब मुटु रोगको उपचारका लागि नागरिकलाई घरखेत बेचेर काठमाडौँ वा भारत जानुपर्ने बाध्यता हटेको छ,’ उनको भनाइ थियो । तर, केन्द्र उद्घाटनपछि लामो समयसम्म जनशक्ति, उपकरण र पूर्वाधार अभावले अस्पतालले आफ्नो उद्देश्यअनुसार सेवा दिन सकेन । तत्कालीन सरकारको घोषणाअनुसार मुटु रोगको निःशुल्क उपचार गर्ने भनिए पनि आवश्यक विशेषज्ञ चिकित्सक, उपकरण र व्यवस्थापन नभएकाले केन्द्रले बिरामीलाई परीक्षण गरेर अन्यत्र रिफर गर्न बाध्य हुँदै आएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक औसत ४० जना मुटु रोगका बिरामी अस्पताल आउँछन् । उनीहरूलाई सामान्य परीक्षणपछि अन्य अस्पतालमा पठाइने गरिएको थियो । अहिले जनरल सेवा सुरु भएपछि सेवाग्राहीको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ ।

सचिव डा.थपलियाका अनुसार अस्पतालले निकट भविष्यमा आकस्मिक सेवा, भर्ना सेवा, विशेषज्ञ सेवा लगायत अन्य आवश्यक संरचना विस्तार गर्दै जानेछ । ‘हामी अहिले एउटा सुदृढ जनरल अस्पतालतर्फ अग्रसर भएका छौं,’ उनले भनिन्, ‘जनशक्ति, उपकरण र पूर्वाधार क्रमशः थप्दै लगिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर