पूर्वाञ्चल खबर
स्थानीय निर्मल पौदारको दुई तले पक्की घरको माथिल्लो तलाबाट बिहान ३ बजेतिर आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक खड्ग राईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
विराटनगर महानगरपालिका र दुहबी नगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा आगलागी बिहान ५ः१० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट पौदारको दुई तले पक्की घरमा आंशिक क्षति पुगेको छ ।
घरका दुईवटा सटरमा सञ्चालन हुँदै आएको हार्डवेयर पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । पसलमा भएको क्षतिको यकिन विवरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही ठाउँमा सुनसरीको दुहबी नगरपालिका–५ का दशरथ हलुवाईको दुईवटा सटर भाडामा लिएर दुहबी–६ का पिन्टु साहले सञ्चालन गर्दै आएको किराना पसलका सम्पूर्ण सामानसमेत जलेर नष्ट भएका छन् । उक्त पसलमा भएको क्षतिको विवरण पनि खुल्न बाँकी छ ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाइएको जनाउँदै प्रहरीले क्षतिको विवरण संकलनको काम पनि भइरहेको जानकारी दिएको छ ।