RUMPUM
animated ellipse animated ellipse

ट्रम्प–किम शिखरवार्ता : कोरियाली प्रायद्वीपलाई निः शस्त्रीकरण गर्न चारबुँदे सहमति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० जेष्ठ २०७५, बुधबार ०७:४९
3
Shares
काठमाडौं /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको ऐतिहासिक शिखरवार्ताका क्रममा चारबुँदे सहमति भएको छ ।

बहुप्रतिक्षित ट्रम्प–किम वार्तापछि उत्तर कोरियालाई सुरक्षा ग्यारेन्टी गर्नेदेखि पूर्ण परमाणु निःशस्त्रीकरणका लागि प्रतिबद्धता जनाउनेसम्मका चारबुँदे सहमति भएका हुन् ।

सो संयुक्त सहमतिपत्रमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर गरेपछि किमले मुस्कुराउँदै हात मिलाएका थिए । वार्तासँगै दुवै नेता यो वार्ताको प्रक्रियालाई जारी राख्न र पटकपटक भेटवार्ता गर्न पनि सहमत भएका छन् ।
किमसँगको वार्ता कस्तो हुन्छ भन्ने भेट भएको एक मिनेटमा नै पत्ता लगाउने भन्दै सिंगापुर पुगेका ट्रम्पले चारबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि उत्तर कोरियाली नेतासँगको वार्ता अनुमान गरेभन्दा पनि धेरै शानदार ढंगले सफल भएको बताए ।

दुवै देशका प्रतिनिधिमण्डलको संयुक्त बैठकपछि दुवै नेताले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले सो भनाइ राखेका हुन् । उनले भने, ‘आज जे भएको छ, यसबाट हामी गर्व महसुस गर्छाैं, उत्तर कोरिया र कोरियाली प्रायद्वीपसँग हाम्रो जुन पुरानो सम्बन्ध थियो, त्यसमा ठूलो परिवर्तन आउनेछ ।’

उनले किमसँग आफ्नो एक खास सम्बन्ध बनेको बताए । किमको तारिफ गर्दै ट्रम्पले भने, ‘उनी धेरै प्रतिभाशाली व्यक्ति हुन् र आफ्नो देशलाई धेरै माया गर्छन् ।’

यस्तै, किमले पनि यो वार्ताको परिणामस्वरूप विश्वमा नयाँ परिवर्तन आउने विश्वास व्यक्त गरे । नेता किमले भने, ‘यहाँसम्म आइपुग्न सजिलो थिएन, हाम्रो इतिहास र हाम्रा मान्यता यस दिशामा अघि बढ्न बाधक थिए तर हामीले ती सबैलाई पार गरेर यहाँ उपस्थित भएका छौं ।’

भेटवार्तापछि ट्रम्प र किम सिंगापुरको सेनटोसास्थित होटलको बगैंचामा केही समय घुमेका थिए । प्रतिनिधिमण्डलको संयुक्त बैठकअघि ट्रम्प र किमबीच ३८ मिनेट कुराकानी भएको थियो ।

सो भेटमा दोभाषे प्रयोग गरिएको भए पनि वार्ता समाप्त भएपछि ट्रम्पले अंग्रेजीमा भने, ‘नाइस टु मिट यु, मिस्टर प्रेजिडेन्ट ।’ दुई नेता वार्ताबाट बाहिरिएर होटलको बाहिर हिँड्दैगर्दा सञ्चारकर्मीले किमलाई केही प्रश्नसमेत सोधेका थिए । एक सञ्चारकर्मीले सोधे, ‘अध्यक्षज्यू, के तपाईं परमाणु निःशस्त्रीकरणका लागि तयार हुनुहुन्छ ?’

अर्का एक सञ्चारकर्मीले पनि सोधे, ‘मिस्टर किम, के तपाईं परमाणु हतियार नष्ट गर्नुहुन्छ ?’ तर किमले यी दुवै प्रश्नको कुनै उत्तर दिएनन् । किमसँगै हिँडिरहेका राष्ट्रपति ट्रम्पले भने सबै कुरा राम्ररी अघि बढिरहेको जानकारी गराएका थिए ।

दुई नेताबीचको आपसी भेटवार्तापछि भएको प्रतिनिधिमण्डलस्तरीय बैठकमा ट्रम्पसँगै विदेशमन्त्री माइक पोम्पेओ, ह्वाइटहाउसका चिफ अफ स्टाफ जोन केली र सुरक्षा सल्लाहकार जोन बोल्टन थिए भने किमसँग उनका निकट सहयोगी मानिने किम योङ चोल, विदेशमन्त्री री योङ हो र पूर्वविदेशमन्त्री री सु योङ सहभागी भएका थिए । यो कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग गरेको पहिलो औपचारिक भेटवार्ता भएकाले विश्वभर नै यसलाई चासोपूर्वक हेरिएको छ ।

यद्यपि, किम र ट्रम्पबीचको यो भेटवार्तापछि पनि उत्तर कोरियामाथि अमेरिकाले लगाएको प्रतिबन्ध तत्काल नहट्ने देखिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियामा मानवअधिकारको स्थितिमा व्यापक सुधारपछि मात्रै प्रतिबन्ध हटाउने दिशामा अघि बढ्ने बताएका छन् । तर, ट्रम्पले अब कोरियाली प्रायद्वीपमा जारी युद्धको खेल अब अन्त्य हुने बताए ।

यस्तो छ ट्रम्प–किम सहमति

१. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके) दुई देशका जनताको चाहनाअनुसार शान्ति र समृद्धिका लागि नयाँ अमेरिकी–उत्तर कोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन् ।
२. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायद्वीपमा दिगो र स्थायी शान्ति स्थापना गर्न संयुक्त रूपमा प्रयास गर्नेछन् ।
३. २७ अप्रिल २०१८ मा भएको पानमुनजोम घोषणापत्रप्रति समर्थन जनाउँदै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायद्वीपलाई पूर्ण परमाणु निशस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ ।
४. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र युद्धका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव शरीरका अवशेषहरूलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउँछन् । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर