सरकारले सीमा बन्द गरेपनि दैनिक हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार जोगबनीमा

खबर पूर्वाञ्चल, ४ मंसिर २०७७, बिहीबार ०७:४७

विराटनगर । नेपाल भारत सीमा बन्द भएपनि किनमेलका लागी प्रहरीकै सामुन्ने दैनिक हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार पुग्ने गरेको समाचार आजको हाम्रोमत दैनिकमा राकेश कर्णले लेखेका छन् ।

भारत प्रवेश गर्ने मुख्यद्धार बन्द हुँदा पनि विभिन्न चोरबाटो हुँदै दिनहुँ हजारौं नेपाली उपभोक्ताहरु भारतीय बजार जोगबनी पुग्ने गरेका हुन् । कोरोना संक्रमणको दर न्युनीकरणका लागी गत चैत्र ११ गतेदेखि सरकारले भारतीय सीमाहरु बन्द राखेको छ ।

सरकारको निर्णय बमोजिम भारतीय सीमाहरु हालसम्म बन्द भएपनि चाडपर्वको अवसर पारेर प्रहरीकै अगाडि दिनहुँ हजारौं उपभोक्ता भारतीय बजार जोगबनी देखि फारबिसगञ्जसम्म पुग्ने गरेका छन् ।

विहान हुने बित्तिकै विराटनगरको दक्षिण गेट, दशगजा क्षेत्र, दरैया बस्ती र ईस्लामपुरबाट दिनहुँ हजारौंको संख्यामा नेपाली उपभोक्ताहरु भारतीय बजार पुग्ने गरेको स्थानीय मोहम्मद मुख्तार हुसैनले बताए। उनका अनुसार सरकारले सीमा क्षेत्रमा विशेष निगरानी तथा कडाई नगर्दा दिनहुँ सो क्षेत्रबाट हजारौंको संख्यामा नेपाली उपभोक्ताहरु भारत पुग्ने गरेका छन् । दशगजा क्षेत्रमा फालिएको फोहोर बालेर धुँवाको आडमा मोरङ र सुनसरीका अधिकांश नेपाली उपभोक्ता बजार पुग्ने गरेको स्थानीयले बताएका छन् ।

स्वास्थ्य उपचार, औषधी खरिद र आफन्तसँग भेटघाट बाहेक चाडपर्वको अवसर पारेर किनमेलकै लागी भारतीय बजार जोगबनी पुग्ने सर्वसाधारणको संख्या पनि ठुलो छ । विशेष गरि अहिले हिन्दु धर्मालम्बीहरुको महान चाड छैठ पनि सुरु भएको हुनाले चाडपर्व लक्षित किनमेलका लागी उपभोक्ताहरु भारतीय बजार पुग्ने र सीमावारि तयारी अवस्थामा बसेको सिटी सफारीमा आफ्नो घरसम्म फर्किने गरेको स्थानीयले बताएका छन् । चामल, पिठो, तेल, नरिवल, चिनी र केरालगायतका सामाग्रीहरु नेपालभन्दा भारतीय बजारमै सस्तो पाईने भएकाले किनमेलका लागी जोगबनी पुगेको जहदा गाउँपालिका वडा नं. ३ का स्थानीय देवन रामले बताए। उनले भने, ‘जाने बेलामा प्रहरीसँग आग्रह गरेर गयौं, फर्किने बेलामा पनि खासै समस्या भएन ।’

नेपाल सरकारले आफ्ना सम्पुर्ण सीमाहरु बन्द राखेको भएतापनि छिमेकी मुलुक भारतले भने गत कार्तिक ६ गतेदेखि आफ्ना सम्पुर्ण सीमानाकाहरु खोलिदिएको छ । भारतीय पक्षबाट कुनै रोकटोक नहुँदा पनि नेपाली उपभोक्तालाई भारतीय बजार पुग्न सहज भएको स्थानीय शिव सहनीले बताए। उनले सीमाक्षेत्रमा काँडेतार लगाईदिए जह्रैबाट यो समस्याको सामाधान हुने कुरामा जोड दिए।

सम्बन्धित बिषयलाई सम्बोद्यन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले भने ठोस कदम चाल्ने जनाएको छ । सीमा क्षेत्रमा थप प्रहरी परिचालन गरेर आगामी दिनहरुमा त्यस्तो परिस्थिति सिर्जना हुन नदिईने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खडकाले बताए ।

चाडपर्वकै अवसर पारेर दिनहुँ मोरङ र सुनसरीका विभिन्न ठाउँहरुबाट नेपाली उपभोक्ताहरु भारत जाने गरेका छन् । प्रशासनको फितलो निगरानी र कमजोर कारबाही क्षमताका कारण कोरोना संक्रमणको दर बढिरहेको बेला प्रहरीकै मिलेमत्तोमा अवैध तस्करी पनि मौलाएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५