खबर पूर्वाञ्चल
युनियनको ३३ औं स्थापना दिवसका अवसरमा प्रेस युनियन कोशी प्रदेश समितिले पत्रकारको सामाजिक सुरक्षा र स्वास्थ्य उपचारका लागि १ करोड १ हजार रुपैयाँ बराबरको अक्षयकोष घोषणा गरेको थियो । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कोषको कार्यविधि सार्वजनिक गरेर कोषको औपचारिक घोषणा गरेका थिए ।
कोषमा प्रेस युनियन युरोप शाखाका अध्यक्ष बसुदा सत्यालले ५० हजार ५ सय, प्रेस युनियन मोरङका विभिन्न पदको जिम्मेवारी पूरा गरेका किरण न्यौपानेले ५१ हजार र उमा पोखरेलले ५ हजार १ सय रुपैयाँ जम्मा गरेका छन् । हाल न्यौपाने अमेरिका र पोखरेल जर्मनीमा बसोबास गर्दै आएका छन् । उनीहरूले आगामी दिनमा थप सहयोगको प्रतिबद्धतासमेत जनाएको युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए । विदेशबाट सम्पर्क गरेर कोष वृद्धिमा योगदान गर्ने भन्दै चासो देखाउँदा निकै उत्साहित भएको नवोदितले बताए । कोषका लागि विदेशमा बसोबास गर्ने धेरैबाट चासो व्यक्त भएको उनले सुनाए । ‘यति नै भनेर रकम चाहिं भन्नुभएको छैन । तर विदेशबाट धेरैले योगदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ प्रदेश अध्यक्ष नवोदितले भने ।
कोषमा जम्मा भएको रकमको ब्याजले समस्यामा परेका युनियनमा आबद्ध पत्रकारलाई सहयोग गरिने उनको भनाइ थियो । सुविधा लिने पत्रकारले कोषमा कम्तीमा १ हजार रुपैयाँ योगदान गरेको हुनुपर्नेछ । कोषमा १४ वटै जिल्ला शाखामार्फत सम्बन्धित जिल्लाका पत्रकारलाई सदस्यता बनाइनेछ । शाखाको सिफारिसका आधारमा समस्यामा परेका पत्रकारलाई कोषबाट सहयोग गरिने अध्यक्ष नवोदितले बताए । कोष वृद्धिका लागि ‘एक सय अभियान’ पनि सञ्चालन गरिनेछ । स्वइच्छाले कोष वृद्धिमा योगदान गर्न सकिने उनको भनाइ थियो । कोषलाई व्यवस्थित र पारदर्शी बनाउन राष्ट्रिय वाणिज्य बैंकमा छुट्टै खातासमेत सञ्चालनमा ल्याइएको महासचिव संजीव वाग्लेले बताए ।
तपाईको प्रतिक्रिया