पूर्वाञ्चल खबर
अपराह्न राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा मनाउन लागेका हुन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली तथा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
एकतामा देखिएको अन्योल चिर्छौं : नारायणकाजी श्रेष्ठ
छुट्टाछुट्टै हुँदा पनि पार्टी स्थापना दिवसमा हामीले कार्यक्रम गर्दै आएका थियौँ । अहिले पार्टी एकता अघि बढिरहेका कारण संयोजन समितिको आयोजनामा संयुक्त कार्यक्रम गर्न खोजिएको हो ।
संयुक्त कार्यक्रम हुँदा स्वाभाविक रूपमा पार्टी एकताका सन्दर्भमा जुन किसिमका अन्योल र आशंकाहरू छन्, अवश्य पनि उहाँहरूले त्यसलाई चिर्ने गरी छिट्टै एकता गर्ने घोषणा गर्नुहुनेछ ।
तीन दिनमा १३ घन्टा वार्ता
अध्यक्षद्वय ओली र प्रचण्डबीच तीन दिनयता १३ घन्टा वार्ता भएको छ । बिहीबार र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार तथा शुक्रबार माइतीघरस्थित एक घरमा दुई अध्यक्षबीच लगातार ‘वान टु वान’ वार्ता भइरहेको छ ।
पहिलो दिन पौने ३ घन्टा, दोस्रो दिन ४ घन्टा तथा शनिबार ३ बजेदेखि राति ९ बजेसम्म दुई नेताबीच छलफल भएको हो । उच्चस्रोतका अनुसार पछिल्ला दिनमा देखिएको अन्योल र आशंका चिर्ने गरी छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ ।
कार्यकारी अधिकार र संख्यामा छलफल केन्द्रित
उच्च स्रोतका अनुसार दुई अध्यक्षबीच एकीकृत पार्टीमा आलोपालो अध्यक्षता गर्दा कार्यकारी अधिकारको प्रयोग र संख्यात्मक हिस्सेदारीमा केन्द्रित रहेर छलफल चलिरहेको छ ।
प्रधानमन्त्री ओली सरकारको कार्यकारी प्रमुखसमेत रहेकाले पार्टी सञ्चालनमा पनि हाबी हुन सक्ने प्रचण्डको आशंका छ । त्यस्तै, माओवादीले संख्यात्मक हिस्सेदारी सम्मानजनक हुनुपर्नेमा जोड दिँदै आएकाले आशंका निवारण हुने गरी छलफल केन्द्रित भएको छ । ‘छलफल सकारात्मक दिशामै अघि बढिरहेको छ, विश्वासको वातावरण पनि बन्दै गएको छ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘बाहिर आएजस्तो धेरै विषय नमिलेको भन्ने होइन, कतिपय विषयमा विश्वासको वातावरण बन्ने गरी छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ ।’ उनले केही दिनभित्रै पार्टी एकताको घोषणा हुने दाबीसमेत गरे । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।