खबर पूर्वाञ्चल
मोफसलमा पहिलो पल्ट दिवा रात्री कालिन समयमा खेलाइने प्रतियोगिताकालागि शहीद मैदानमा फ्रड लाइट जोड्ने काम अन्तिम चरणमा पुगेको विराट गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालले बताए । फलामको खम्बा महँगो पर्ने भएकाले बाँसका खम्बामा चारैतिर लाइट जडान गर्न भारतको कोलकाताका साथै विराटनगरका प्राविधिक निरन्तर काम गरिरहेको अध्यक्ष रिजालले जानकारी दिए ।
अध्यक्ष रिजालका अनुसार मैदानको चारैतिर ६ स्थानमा १ सय २० वटा बत्ती जडान गरिएको छ । अझै २० देखि ३० वटा बत्ती जडान गर्ने रिजालले बताए ।
प्रतियोगिता चैत १७ गते देखि २६ गतेसम्म विराटनगरका शहिद मैदानमा साँझ ६ बजेदेखि शूरु हुने आयोजकले बताएको छ । नेपालसहित तीन मुलुकका १० वटा टिमको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा काठमाडौँका मनाङ–मस्र्यादी, थ्रि–स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी, सशस्त्र प्रहरी टिमका साथै मोरङ र झापा –११ को टिम नेपालतर्फ बाट सहभागिता रहने छ ।
विदेशी टिममा भुटानबाट एक र भारतको २ टिम सहभागि रहने छ प्रतियोगितामा अनुमानित रु एक करोड खर्च हुने आयोजक समितिका संंयोजक रिजालले जानकारी दिए ।
सो प्रतियोगिताको विजेता टोलीलाई शिल्डसहित रु १२ लाख ७१ हजार तथा उपविजेता टोलीलाई रु पाँच लाख ५१ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
यसका साथै प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई रु १० हजार तथा ‘म्यान आफ दि सिरिज’ घोषित खेलाडीका लागि शिल्ड र मोटरसाइकलको पुरस्कार व्यवस्था गरिएको छ ।
त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, फरवार्ड, सर्वा्धिक गोलकर्ता, उत्कृष्ट व्यवस्थापक र फेयर प्ले टिमका लागि पनि पुरस्कार व्यवस्था गरिनेछ ।