खबर पूर्वाञ्चल
आइतबार सभामुखका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका बमोजिम एमाले संसदीय दलको निर्णय अनुसार भण्डारीको एकल उम्मेदवारी परेको हो ।
एमालेमा सभामुखका लागि खास चर्चामा नआएमा भण्डारी सभामुख बन्ने कुरा आइतबार विहानमात्रै टुंगो लागेको थियो । सभामुख पाउने सूचिमा उनी अन्तिमतिर थिए । सोमबार बस्ने संसद बैठकमा भण्डारीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ र संसदको बहुमतसहित बामगठबन्धनको दुइ तिहाई समर्थनमा उनी सभामुखमा चयन हुनेछन् ।
एमालेभित्र झांगिएको गुट राजनीतिका कारण संसदीय दलको नेतामा ओली समुहका शेरधन राई विजयी भएका थिए । त्यहि भएर सभामुखमा माधव नेपाल समुहबाट उपयुक्त उम्मेदवारको खोजी गर्ने क्रममा भण्डारी सर्वसम्मत भएका हुन् ।
सभामुखको दाबेदारमा उषाकला राई, गणेश कुमार काम्बाङ, जगदीश कुसियैत र तुलसी प्रसाद न्यौपानेको नाम पनि चर्चामा आएको थियो । त्यसमध्ये उषाकलाले मात्रै आफ्नो उम्मेदवारीलाई स्पष्ट दाबी प्रस्तुत गरेकी थिइन् ।
संसद भवन रहेको जिल्ला समन्वय समितिको सभाहलमा बसेको एमाले संसदीय दलको बैठकले भण्डारीको नाम सर्वसम्मत भएको निर्णय सुनाएको थियो । संसदीय दलका नेता शेरधन राईले सवैको सहमतिमा नाम प्रस्ताव गर्दा भण्डारीको नाममा सहमति जुटेको बैठकमा जानकारी दिए ।
उपस्थित प्रदेशसभा सदस्यहरुले त्यसमा समर्थन जनाएपछि भण्डारीले संसद सचिवालयमा मनोनयन दर्ता गराएका हुन् । उक्त मनोनयन पत्रमा प्रस्तावकमा सभामुखमै नाम आएका तुलसी प्रसाद न्यौपाने र समर्थकमा लक्ष्मण तिवारीले हस्ताक्षर गरेर संसद सचिवालयमा दर्ता गराए । संसदीय दलको बैठकमा छलफल भएपछि भण्डारीको नाममा सहमति भएको प्रदेशसभा सदस्य एवं एमाले प्रदेश कमिटी १ का इन्चार्ज भीम आचार्यले जानकारी दिए । उद्घोष दैनिकमा खबर छ ।