पूर्वाञ्चल खबर
एमाले स्थायी कमिटिले सहमति नभएर निर्वाचनबाट संसदीय दलको नेता चयन गर्ने निर्णय गरिसकेको र मुख्यमन्त्रीका दाबेदारहरु पछि हट्ने अवस्था नदेखिएकोले निर्वाचनको संभावना बढेको हो ।
एमालेभित्रै मुख्यमन्त्री सहमतिमै चयन गर्न दबाब परेपनि १ नम्बर प्रदेशमा मुख्यमन्त्रीको आकांक्षा राख्नेहरु पनि निर्वाचनमा जान तयार रहेको बताइरहेका छन् । प्रदेशको संसदीय दलको नेता मुख्यमन्त्री बन्ने भएकोले दाबेदारहरु पछि हट्ने संभावना छैन । जसले गर्दा प्रदेशसभाको पहिलो अधिवेशनपछि संसदीय दलमा मुख्यमन्त्री चयनको लागि निर्वाचन हुने संभावना छ ।
प्रदेशमा एमाले केन्द्रीय सचिब भीम आचार्य, पोलिटब्युरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरेले मुख्यमन्त्री (संसदीय दलको नेता)को दावी गरिरहेका छन् । घिमिरेले अन्य पद निश्चित गर्न मुख्यमन्त्रीको दावी गरेको भएपनि आचार्य र राईबीच प्रतिष्पर्धा हुने संभावना बढेको एमाले स्रोतको भनाइ छ ।
पार्टीमा नेता माधब नेपाल निकट मानिएका आचार्य र अध्यक्ष केपी ओली निकट मानिएका राई दुबैले संसदीय दलमा निर्वाचन भएपनि सहजै चुनाब जित्ने दावी गर्दै आएका छन् । प्रदेशसभामा निर्वाचित भएका सांसदमध्ये प्रत्यक्षमा ओली समूहको बुहमत देखिएपनि समानुपातिकबाट छानिएका अधिकांश नेपाल समूहका छन् । पार्टीको प्रदेश संयोजक रहेका आचार्यले प्रदेशसभामा टिकट वितरण गर्दै आफ्नो गुटकालाई प्राथमिकता दिएकोले संख्यात्मक रुपमा संसदीय दलमा पनि नेपालको स्पष्ट बहुमत छ ।
यद्यपी आचार्यको विवादित व्यक्तित्व र नेपाल गुटकै घिमिरेको समानान्तर दावीको कारण आपूm चुनाब जित्नेमा राई ढुक्क देखिएका छन् । नेता घिमिरेले सचिब आचार्य प्रदेशमा उम्मेदवार बन्नु नै गलत भएको भन्दै नेपाल समूहबाट आपूm आधिकारिक उम्मेदवार भएको बताउँदै आएका छन् । घिमिरेले आचार्यको विरुद्ध खडा भएर राईलाई समर्थन गर्दै सभामुख पद हात पार्ने प्रयासमा रहेको दावी पनि कतिपय एमाले नेताहरुको छ । त्यो अवस्था आयो भने राईलाई प्रतिष्पर्धामा बल पुग्नेछ ।
अर्कोतिर पार्टी अध्यक्ष केपी ओलीले राईको पक्षमा खुलेर सहयोग गरेमा प्रदेशका करिब आधा दर्जन नेपाल पक्षका सांसदहरुले राईलाई मत दिने दावी पनि राई पक्षको छ । अर्कोतिर नेपाल समूहका आचार्य विवादित भएकोले उनलाई सहयोग नगर्ने पक्षमा सोही समूहका कतिपय सांसद हुनु पनि राईको लागि अनुकुलता देखिन्छ । घिमिरेको उम्मेदवारी कायम रहेमा वा उनको समूहले राईलाई सहयोग गरेमा आचार्यलाई भारी पर्ने देखिएको छ ।
नेता नेपाल र झलनाथ खनालले मेहनत गरेमा भने तलका विवाद मिल्ने र आचार्य भारी मतसहित संसदीय दलको नेता चुनिने दावी पनि एमालेभित्र भइरहेको छ । निर्वाचनबाट संसदीय दलको नेता चुन्दा यहि प्रदेशमा मात्र आफ्नो पक्षको व्यक्त मुख्यमन्त्री बन्ने संभावना रहेकोले त्यसलाई उम्कन दुबै नेताले नदिने दावी अचार्य निकट एक नेताको छ । सचिब आचार्य नेता खनालका ज्वाईंसमेत हुन् ।
एमालेभित्र तल्लो तहसम्म गुटगत आधारमा कार्यकर्ताहरु विभाजित छन् । जसले गर्दा को कुन पक्षको हो भनेर बुझ्न समस्या छैन । तर, प्रदेशसभामा समानुपातिकतर्फ कतिपय गुटगत अड्डी नराख्ने निर्वाचित भएका छन् भने जातीय आधारमा पनि कतिपय मत प्रभावित हुने संभावना छ । यस्तै सभामुख र मन्त्री नियुक्तिमा भाग प्राप्त गर्ने संभावना हेरेर कतिपयले गुट परिवर्तन गर्नसक्ने संभावना पनि देखिएको छ । त्यसैले मुख्यमन्त्री अर्थात संसदीय दलको नेता निर्वाचनबाट को छानिन्छ भनेर अहिले नै भन्नसक्ने अवस्था भने छैन ।
को कुन समूहमा ?
प्रदेशसमा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट गरी ५१ सिट जितेको छ । संसदीय दलको नेता बन्न निर्वाचन भएमा २६ मत आवश्यक पर्छ । विगतमा भएको निकटताको आधारमा प्रदेश संसदमा नेपाल समूहको भारी बहुमत छ । नेपाल समूहका २९ जना छन् भने ओली समूहका २० जना देखिएका छन् । २ जनाको समूहगत आबद्धता खुलेको छैन ।
यद्यपी नेपाल समूहका सबैले आचार्यलाई मत नदिने दावी ओली समूहको छ । अर्कोतिर नेपाल समूहका कतिपयले गुट परिवर्तनको तयारी गरिरहेको चर्चा पनि छ । नेपाल समूहकै जीवन घिमिरेले मुख्यमन्त्रीको दावी गरिरहेको बेला सोही समूहमा रहेका मोरङका राजकुमार ओझा, लिलावल्लभ अधिकारीसहित केही सांसदले पनि आचार्यलाई सहजै समर्थन नगर्ने देखिएको छ ।
नेपाल समूहमा रहेकी मोरङकै सांसद सावित्री रेग्मीले भने आगामी सरकारमा मन्त्री सुनिश्चित भएमा राईलाई समर्थन गर्ने तयारी गरेको स्रोतको दावी छ । अर्कोतिर क्लष्टरको आधारमा आदिवासी जनजातिको बाहुल्यता रहेको प्रदेश भएकोले राईलाई नै मुख्यमन्त्री बनाउनुपर्ने लबिङ एमालेभित्र र बाहिर पनि छ ।
नेपाल समूह
१. राजेन्द्र राई (भोजपुर)
२. तुलसी न्यौपाने(संखुवासभा)
३. बलबहादुर साम्सुहाङ (ताप्लेजुङ)
४. गणेश काम्बाङ (पाँचथर)
५. राजन राई (खोटाङ)
६. खिना लिम्बू (इलाम)
७. रामबहादुर मगर (इलाम)
८. लक्ष्मण तिवारी (तेह्रथुम)
९. निरन राई (धनकुटा)
१०. उपेन्द्र घिमिरे (मोरङ)
११. लिलाबल्लभब अधिकारी(मोरङ)
१२. राजकुमार ओझा(मोरङ)
१३. जीवन घिमिरे(मोरङ)
१४. कला घले (उदयपुर)
१५. गोपाल बुढाथोकी (झापा)
१६. विर्खराज प्रधान (झापा)
१७. हिराबहादुर थापा (झापा)
१८. भीम आचार्य (सुनसरी)
१९. प्रदिप भण्डारी (सुनसरी)
२०. जसमाया गजमेर (विश्वकर्मा)
२१. सावित्री जोशी
२२. उषाकला राई
२३. कृष्णकुमारी राई
२४. पदमकुमारी गुरुङ
२५. होमकुमारी साँवा
२६. यशोदा अधिकारी
२७. सरिता थापा
२८. सावित्राकुमारी रेग्मी
२९. सुनिताकुमारी चौधरी
ओली समूह
१. शेरधन राई (भोजपुर)
२. तेजमान कन्दंवा (तेह्रथुम)
३. उत्तमकुमार बस्नेत (सोलु)
४. बुद्धिकुमार राजभण्डारी (सोलु)
५.अम्बिरबाबु गुरुङ (ओखलढुंगा)
६. इन्द्रमणी पराजुली (धनकुटा)
७. ज्ञानेश्वर राजवंशी (मोरङ)
८. विमल कार्की (उदयपुर)
९. हिक्मत कार्की (झापा)
१०. अर्जुन राई (झापा)
११. श्रीप्रसाद मैनाली (झापा)
१२. एकराज कार्की (झापा)
१३. बसन्त बानिया (झापा)
१४. सर्वध्वज साँवा (सुनसरी)
१५. निलम बस्नेत (सुनसरी)
१६. जगदिश कुसियत (सुनसरी)
१७. काजिमान कागते (इलाम)
१८. विनादेवी राई
१९. आशारत्न जबेगु
२०. अम्बिका थापा
तठस्थ समूह
१. गुलेफुन मियाँ
२. वसन्ती देवी यादव
साभा-जनविद्रोह दैनिक