खबर पूर्वाञ्चल
विराटनगर–११ पिचराको दुर्गा मन्दिरको छेउमा छाप्रो बनाएर बसोवास गर्ने ७८ वर्षीया वृद्धा चन्द्रकुमारी ठकुरीको दैनिकी कठ्याङग्रिदो जाडोमा कष्टकर तरिकाले चल्दै आएको छ । पुसको सुरुवातदेखि नै सुरु भएको सितलहरले पैदान गरेको मुटु काम्ने जाडोमा वृद्धा चन्द्रकुमारी तावामा आगो बालेर रात कटाउने गरेकी छन् ।
‘आफ्नो भन्ने कोही छैन्,’ वृद्धा ठकुरीले भनिन्, ‘मेरो लागि सिरक र डसना भनेकै कागज र कोइला भेला पारी तावामा बाल्ने आगो हो ।’ बृद्धा ठकुरीले अहिलेसम्म सिरक र डस्नाको न्यानो कस्तो हुन्छ भन्ने अनुभव लिन नपाएको बताएकी छन् । हिँडडुलसमेत गर्न नसक्ने वृद्धा यो पुस र माघको जाडो थेगे भने त्यसपछि बाँच्ने हिम्मत रहेको बताउँछिन् ।
पुसको सुरुवादेखि नै सितलहरसँगै जाडो बढन थालेको छ । उनी भन्छिन्, ‘यो दुःखीलाई रात कटाउने न्यानो कपडा कोही मनकारीले सहयोग गरे यस वर्षको जाडो त काट्थे कि ।’ श्रीमानको मृत्युपछि सडक पेटीमै सानो छाप्रो बनाएर वर्षौदेखि बसोबास गर्दै आएकी चन्द्रकुमारीलाई बिहान र बेलुकाको खाना भने स्थानीय समाजसेवी मधु राईले दिने गरेकी छन् ।
‘श्रीमान हुँदा हात पाखुरा चल्थो जेनतेन गरेर बुढाबुढीको गुजुरा चलेको थियो,’ वृद्धाले भनिन्, ‘श्रीमानले छोडेर गएपछि बिजोग भएको छ । वृद्धा अवस्था भयो । अहिले बिरामले चेपेको छ । उनी भन्छिन्, ‘हातपाखुरा पनि चल्दैन । अरुको सहारमा जीवन चलाउनुपरेको छ । एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्न सके त एक्लो ज्यान पाल्न सक्थे नी,’ वृद्धा ठकुरीले भनिन्, ‘बसेको ठाउँदेखि अर्को ठाउँसम्म सर्न सक्दिन । यस्तो ज्यानले कसरी गरिखानु ?’ गहभरी आँखु पार्दै वृद्धा चन्द्रकुमारीले भनिन्, ‘छोराछोरी नहुँदा त सारै पो दुःख पाइदो रहेछ ।’
वृद्धा चन्द्रकुमारीलाई प्रत्येक वर्ष आउने दुई सिजमा दुईवटा पिरले सताउने गरेको छ । वर्खा सुरु हुदा पानीको पीर अहिले जाडोको पीरले सताउने गरेको उनले बताइन् ।
साभारः ब्लाष्ट