AArya
RUMPUM
animated ellipse animated ellipse

जेन जी आन्दोलनको आडमा विध्वंस मच्चाउने अनुहारको पहिचान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ आश्विन २०८२, बिहीबार ११:३५
837
Shares
विराटनगर / जेन जी आन्दोलनको आडमा मोरङमा भएका शृङ्खलाबद्ध आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न विराटनगरमा मात्रै एक सय २५ जनाभन्दा बढी व्यक्तिको प्रहरीले पहिचान गरेको छ ।

आम नागरिक र विभिन्न स्रोतहरूबाट प्राप्त एक हजारभन्दा बढी भिडियो फुटेजको गहन विश्लेषणपछि प्रहरीले उनीहरूको पहिचान गरेको हो । माथिल्लो निकायबाट निर्देशन आउनासाथ उनीहरूलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सोमबार मात्रै जिल्ला प्रहरी कार्यालय मोरङको कमाण्ड सम्हालेका एसपी कवित कटवालले आपराधिक गतिविधिमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आगजनी, तोडफोड र लुटपाटका घटनालाई प्रहरीले अत्यन्त गम्भीर रूपमा लिएको र दोषीलाई कानूनी कठघरामा उभ्याउन अनुसन्धान तीव्र पारिएको जानकारी दिए ।

“सरकारी तथा निजी सम्पत्तिमाथि विध्वंस मच्चाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याइनेछ” एसपी कटवालले भने, “जेन जीको नाम लिएर आपराधिक कार्यमा संलग्नलाई कानूनबमोजिम कारबाही गरी प्रहरीको मनोबल उच्च बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ ।”

अनुसन्धानका लागि प्रहरीले आम नागरिकबाट प्राप्त भिडियो र फोटोलाई मुख्य आधार बनाएको छ । एक प्रहरी इन्स्पेक्टर नेतृत्वमा गठित प्राविधिक टोलीले सङ्कलित एक हजारभन्दा बढी भिडियो क्लिपहरूको विश्लेषण गरी घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरिरहेको छ । एसपी कटवालले आपराधिक गतिविधि गर्ने र अराजक भीडलाई उक्साउनेहरू भाग्न नपाउन् भनेर प्रहरीले उच्च निगरानी बढाएको पनि बताए । साथै, उनले अझै पनि यस्ता घटनासँग सम्बन्धित भिडियो वा अन्य प्रमाण भए उपलब्ध गराएर अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेका छन् ।

आन्दोलनको क्रममा मोरङमा ठूलो भौतिक क्षति भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्लाभरि १ सय ५५ वटा सरकारी तथा निजी संरचनामा क्षति पुगेको छ । प्रदर्शनकारीले प्रदेशसभा भवन, मुख्यमन्त्रीको कार्यालय तथा निवास, अन्य मन्त्रालय, जिल्ला तथा उच्च अदालत, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, विभिन्न स्थानीय तहका कार्यालय र निजी घरहरूमा समेत आगजनी र तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर