पूर्वाञ्चल खबर
हिजो साँझदेखि आज विहानसम्म विराटनगरको नोबेल मेडिकल कलेजमा ७ जना, विराट अस्पतालमा २ जना, कोशी कोभिड उपचार केन्द्रमा ३ जना विराटनगरको ग्रिनक्रस अस्पतालमा १ जना, झापाको विएण्डसी अस्पतालमा १ जना र उदयपुर कोभिड अस्पतालमा १ जनाको मृत्यु भएसँगै प्रदेश १ मा १५ जनाको मृत्यु भएको हो ।
नोबेलमा मोरङको पथरीशनिश्चरे नगरपालिका १ की ६४ वर्षीया वृद्धा महिलाको आज विहान १ बजे मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि वैशाख २३ गते अस्पताल भर्ना गरिएकी उनको उपचारको क्रममा मृत्यु भएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
यस्तै विराटनगर महानगरपालिका–१ का ३५ वर्षीया पुरुषको राति ११ः३० बजे मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई शनिबार दिउँसो मात्रै अस्पताल भर्ना गरिएको थियो ।
उदयपुरको बेलटारका ५६ वर्षीया पुरुषको नोबेलमै राति १०ः५६ बजेतिर मृत्यु भएको छ । उनलाई वैशाख २६ गते अस्पताल भर्ना गरिएको प्रबन्धक दाहालले बताए ।
विराटनगर–४ का ५२ वर्षीया पुरुषको राति १०ः२५ बजेतिर मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि उनलाई वैशाख ३१ गते अस्पताल भर्ना गरिएको थियो ।
सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया वृद्धा महिलाको शनिबार साँझ नोबेलमै मृत्यु भएको हो । उनलाई वैशाख २७ गते अस्पताल भर्ना गरिएको थियो ।
यसैगरि, सिरहाका ६९ वर्षीया पुरुषको शनिबार साँझ नोबेलमा मृत्यु भएको छ । उनलाई वैशाख ३१ गते भर्ना गरिएको थियो । सिराहकै ६२ वर्षीया वृद्ध पुरुषलाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएकोमा उनको पनि शनिबार अपरान्ह मृत्यु भएको छ ।
यता कोशी कोभिड–१९ उपचार केन्द्रमा मोरङको सुनवर्षी नगरपालिका ३ का ५३ वर्षीया पुरुषको शनिबार राति मृत्यु भएको छ । उनलाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।
कोशीमै विराटनगर १ की ३४ वर्षीया महिलाको पनि राति नै मृत्यु भएको छ । उनलाई पनि उपचारका लागि वैशाख २४ गते भर्ना गरिएको थियो । विराटनगर १४ का ६८ वर्षीया वृद्ध पुरुषको शनिबार राति मृत्यु कोशीमा भएको छ। उनलाई शनिबार दिउँसो भर्ना गरिएको थियो ।
मोरङको टंकीमा रहेको विराट मेडिकल कलेजमा दुई सङ्क्रमितको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका ८ का ३४ वर्षीया पुरुषको आज बिहान ४ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई उपचारका लागि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो ।
उता सर्लाहीको लालबन्दीकी ३५ वर्षीया महिलाको विराटमै शनिबार राति १०ः२० बजे मृत्यु भएको छ ।
उता उदयपुरमा एकैदिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणपछि उपचारको क्रममा त्रियुगा नगरपालिका ३ घर भइ गाईघाट बजारमा व्यापार गर्दै आएका ४० वर्षीया व्यापारीको शनिबार बेलुका मृत्यु भएको हो । उनको झापाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
त्यसैगरी कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका १० का ६३ वर्षीया पुरुषको उदयपुर कोभिड अस्पताल चौदण्डिगढी नगरपालिका ७ मा शनिबार बेलुका मृत्यु भएको छ । चौदण्डिगढी नपाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलका अनुसार शनिबार दिउँसोसम्म सामन्य अवस्थाम रहेका उनी संक्रमणबाट आत्तिएपछि हृदयघातबाट मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
त्यसैगरी विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा त्रियुगा १२ का ५१ वर्षीया पुरुषको शनिबार बेलुका मृत्यु भएको छ । तीन दिनअघि दमको विरामी भई उपचारका लागि विराटनगर र्पुयाइएका उनलाई गाल्डेन अस्पताल कोरोना पुष्टि भएपछि उपचार नगर्दा परिवारले ग्रिनक्रसमा लगेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।