खबर पूर्वाञ्चल
कोभिड–१९ को प्रभावका कारण विद्यालयको नियमित पठनपाठन हुन नसकेको भन्दै उनले वैकल्पिक माध्यमबाट पठन पाठन सञ्चालन गर्ने तयारी गरिएको बताए । विराटनगरको सत्यनारायण माविले राष्ट्रिय बाल दिवसको अवसरमा आज गरेको अनलाइन कार्यक्रममा सामाजिक विकास मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । उनले विद्यार्थी उमेरमा नै भविष्यको बाटो निर्धारण गर्न सकिने बताउँदै विद्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको वर्तमान अवस्थामा बालबालिकालाई अन्योलमा नपरी संयमित भएर अध्ययनमा केन्द्रित हुन र भविष्य निर्माणका लागि सही मार्ग रोज्न आग्रह गरे ।
सूचना प्रविधिको प्रयोग गरेर जीवनलाई सहज र कामलाई प्रभावकारी बनाउन सकिने अवस्था रहेको मन्त्री घिमिरेले बताए । त्यसैले अबका दिनमा प्रविधिमा आधारित भएर पठनपाठन गर्नुपर्ने र विद्यालयहरूले पनि प्राविधिमा आधारित भएर शिक्षा दिने कार्यमा जोड दिनुपर्ने मन्त्री घिमिरेले बताए ।
कार्यक्रममा विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कोरोनालाई सामान्य रोग नठान्न र यसबाट बच्नका लागि आवश्यक सावधानी अपनाउन सुझाव दिंदै १८ बर्षभन्दा कम उमेरका बाालबालिकामा संक्रमणको दर अति न्यून रहेको अध्ययनबाट पाइएको बताए । उनले कोरोना महामारी तथा त्यसबाट बच्ने उपायका विविध पक्षबारे प्रकाश पार्दै कोरोनाको विरामीहरुका लागि नेपालमा उपलब्ध उपचार पद्धतिबारे जानकारी गराए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन श्रेष्ठले प्रतिकूल परिस्थितिका कारण लामो समयदेखि कक्षा सञ्चालन हुन नसकेको भए पनि अब सरकारले तोकेको मापदण्ड अनुसार विद्यार्थीहरूलाई वर्गीकरण गरेर वैकल्पिक शिक्षाको विधिबाट पठनपाठन अगाडि बढाउन चाहेको बताए । सगरमाथा टिन्स क्लबका अध्यक्ष नवराज भट्टराई, जनहित बाल क्लबका अध्यक्ष पिन्की मेहता र लक्ष्मी यादवले बालबालिकाको प्रतिनिधित्व गर्दै बाल दिवसको सार्थकता तथा कोभिड–१९ का कारण बालबालिकामा पारेको असरबारे विचार व्यक्त गरेका थिए ।